इटहरी । प्रदर्शनमा आएपछि दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको नेपाली चलचित्र ‘परान’ को टिमले सोमबार इटहरीमा सञ्चारकर्मीहरूसँग विशेष साक्षात्कार गरेको छ । निर्देशक दीपक आचार्य (काकु), कलाकार बबिन राई, र लोकदोहोरी गायिका गंगा गौतम आचार्यको उपस्थिति रहेको उक्त कार्यक्रम संगीत चोकस्थित फुडशालामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै निर्देशक आचार्यले ‘परान’ आफ्नो पहिलो निर्देशन रहेको बताउँदै, चलचित्रमा आजको नेपाली समाजमा देखिएका यथार्थ घटनाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चलचित्रले मनोरञ्जन सँगै सामाजिक सन्देश पनि बोकेको छ । चलचित्रको करिब ८० प्रतिशत दृश्य धनकुटाको रमणीय भू–भागहरूमा र बाँकी काठमाडौंमा छायांकन गरिएको उहाँले बताउनुभयो । आचार्यका अनुसार चलचित्रले धनकुटाको प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानलाई पर्दा मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य लिएको छ । कलाकार बबिन राईले चलचित्रमा आफूले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्दै दर्शकले दिएको माया र साथप्रति आभार व्यक्त गर्नुभयो । त्यस्तै, गायिका गंगा गौतम आचार्यले चलचित्रको कथा भावनात्मक र जीवन्त भएको उल्लेख गर्दै, दर्शकहरूलाई चलचित्र हेर्न आग्रह गर्नुभयो । हालै चलचित्र टिमले धरान, इटहरी, विराटनगर र झापाका विभिन्न हलहरूमा पुगेर दर्शक सँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया संकलन गरेको थियो। दर्शकहरूले चलचित्रको कथा, अभिनय, छायांकन र सन्देश प्रति अत्यन्तै सकारात्मक र भावनात्मक प्रतिक्रिया जनाएका छन् ।