इटहरी | अभिनेता तथा गायक अशोक दर्जी अभिनित ‘मन बिनाको धन’ फिल्म शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिनदेखि नै फिल्मले उत्साहजनक दर्शक प्रतिक्रिया पाउँदै हाउसफुल शो देखाएको छ।
फिल्ममा सडक बालकदेखि सांगीतिक सफलतासम्मको अशोक दर्जीको वास्तविक जीवन यात्रालाई भावनात्मक र नाटकीय ढंगले चित्रण गरिएको छ। कथा ‘मन’ र ‘धन’बीचको संघर्षमा केन्द्रित छ— जसमा अशोक दर्जीले कसरी “जिरोदेखि हिरो” सम्मको यात्रा तय गरे भन्ने प्रेरणादायी सन्देश प्रस्तुत गरिएको छ।
निर्देशक टंक बुढाथोकीले अशोक दर्जीको जीवनलाई ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ गीत मार्फत जनचेतनामा ल्याएका थिए। यही जीवनकथामा आधारित फिल्मले पनि दर्शकको मन छोएको छ। हाल अशोक काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।
फिल्मको कथा टंक बुढाथोकीकै लेखन तथा निर्देशनमा बनेको हो भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्। निर्माता विष्णुमाया मैनाली र कार्यकारी निर्माता सपना शर्मा रहेको यस फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।
फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, र मित्र डी. गुरुङको सम्पादन रहेको छ। वितरणको जिम्मा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्।
‘मन बिनाको धन’ सँगै यो हप्ता अन्य दुई नेपाली फिल्म पनि प्रदर्शनमा आएका छन्।


