इटहरी । मोरङको पथरीमा जारी अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ईन्ट्रा पथरीशनिश्चरे गोल्डकप–२०८२ को फाइनलमा आयोजक पथरी ११ फुटबल क्लब र सिरहाको सलहेश युवा क्लब भिड्ने भएका छन् । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक पथरी ११ ले ’ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) लाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । जाँतेमोडस्थित पथरी रंगशालामा भएको रोमाञ्चक खेलमा पथरी – ११ का सौर्य राउतले २५ औं मिनेटमा गरेको उत्कृष्ट गोल नै निर्णायक बनेको थियो । पथरी ११ फुटबल क्लबका खेलाडीहरूले खेल भरि नै आक्रामक प्रदर्शन गरेका थिए । उत्कृष्ट प्रदर्शनका लागि सौर्य राउत ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो । राउतलाई प्रमुख अतिथि तथा पथरी शनिश्चरे नगरपालिकाका प्रवक्ता नविनजंग कार्कीले ट्रफी र नगद पुरस्कार प्रदान गर्नुभयो । फाइनल खेल आगामी कात्तिक २२ गते शनिबार पथरी रंगशालामा हुनेछ । विजेता टिमले नगद ५ लाख रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ सहित ट्रफी र मेडल पाउनेछन् । साथै, विभिन्न विधाहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्ने  खेलाडीहरूलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।