इटहरी, कार्तिक २२ । वंगलादेशमा भएको छैठौं अन्तर्राष्ट्रिय कराते च्याम्पियन कुमुते (फाइट) प्रतियोगितामा नेपालका तर्फबाट सहभागी कोशी प्रदेश इटहरी र सुन्दर हरैचाका सात जनाले उपाधि जितेका छन् । अक्टोम्बर ९ गतेदेखि दुई दिनसम्म चलेको प्रतिस्पर्धामा नेपालबाट सहभागी भएका नौं जनामध्ये सात जनाले स्वर्ण पदक हात परेका हुन भने दुई जनाले रजत उपाधि हात परेका हुन् ।
उपाधि हात परेका खेलाडीहरुलाई शनिबार इटहरी स्थानीय खेलप्रेेमी, व्यवसायी तथा सञ्चारकर्मी द्वारा सम्मान समेत गरियो । उपाधि विजेता खेलाडी कक्षा ५ देखि माथि विद्यालय तहमा अध्ययनरत छात्रछात्रा हुन् ।
सो क्रममा छ देशका सहभागीमध्ये ठूलो सफलता हात पार्न सफल भएको अनुभव सुनाए । प्रतिस्पर्धामा सहभागी भएकामध्ये १२ वर्षदेखि १४ वर्ष उमेर समूहको ४० केजी तौल समूहमा इटहरीका अस्टिन उप्रेती, १४ वर्षदेखि १६ वर्ष उमेर समूहको ४५ केजीभन्दा बढी तौल समूहको खेलमा रेयिन थापा, १८ वर्ष उमेर समूहको बढी समूहको ५५ केजी तौल समूहमा सन्दिप चौधरी र १४ वर्षदेखि १६ वर्ष उमेर समूहको ४५ केजी तौल समूहमा विन्दा तामाङ्ले स्वर्ण पदक हात परेकी हुन् । यस्तै, १२ वर्षदेखि १४ वर्ष उमेर समूहको ४५ केजी तौल समूहमा खुसी विष्ट, सोही उमेरको ४० केजी भन्दा बढी तौल समूहमा सिल्पा श्रेष्ठ र १० वर्षदेखि १२ वर्ष उमेर समूहको ३५ केजी तौलमा श्याम चौधरीले स्वर्ण पदक जितेका हुन् ।
यस्तै, इटहरीका सन्दिप चौधरी र राहुल हरिजनले रजत पदक जितेका छन् । उपाधि विजेतामध्ये खुसी विष्टले धेरै देशका सहभागीमध्ये नेपालबाट सहभागी भएर सवैले जिते ठूलो सफलता प्राप्त गरेको बताइन् । प्रतियोगितामा नेपालसहित श्रीलंका, वंगलादेश, भूटान, जापान र भारतका खेलाडी सहभागी भएको एशियन कराते फेडेरेशनका प्रशिक्षक सागर राउतले बताए ।
यसैगरी, केही समयअघि थाइल्याण्डमा भएको कुमुतेमै इटहरीबाट सहभागी भएका विन्दा तामाङ् र आशिष हरिजनले कास्य पदक जितेका थिए । त्यतिबेला विश्वका ३० देशका प्रतिस्पर्धी सहभागी भएका थिए । इटहरी संगीत चोक स्थित सोसियल क्याफेमा भएको सम्मान कार्यक्रममा खेलप्रेमीहरूको लागि समाजबाट हौसला र सम्मान दिन सके खेलाडीहरूले राष्ट्रको नाम चिनाउन अझ मेहनत गर्ने हौसला पुग्ने शिक्षासेवी अर्जुन उप्रेतीले बताए। खेलाडीहरूलाई खेलाडी तथा प्रशिक्षकलाई नेपाल खेलकुद महासङ्घ सुनसरी अध्यक्ष विकल पौडेल नेपाल पत्रकार महासंघ सुनसरी सचिव विनय बाराकोटी, नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय सदस्य अमर खड्का लगायत सञ्चारकर्मीले खदा लगाएर खेलाडीको सम्मान गरेका थिए।


