प्रेेक्षा आचार्य
इटहरी | महिलाहरूको विचार, अनुभव र आत्मविश्वासलाई अभिव्यक्त गर्ने उद्देश्यका साथ Ladies of Liberty Alliance (LOLA) Chapter Itahari र Rotaract Club Sunsari को सहकार्यमा “आफ्नो आवाज – Circle of Thoughts” नामक खुला छलफल कार्यक्रम आज Lunar IT Solution Pvt. Ltd., Itahari मा सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा करिब २० जना युवा महिलाहरूको सहभागिता रहेको थियो। गोलमेच छलफलको स्वरूपमा सञ्चालन गरिएको यस सत्रमा सहभागीहरूले आफ्ना व्यक्तिगत अनुभव, सामाजिक परिवेशमा देखिएका समस्याहरू, अवसरहरूमा देखिएका असमानता, तथा त्यसको सम्भावित समाधानबारे खुल्ला रूपमा प्रस्तुत गरेका थिए।
छलफलमा विशेषगरी “किन काठमाडौं उपत्यकामा अवसर बढी र अन्य स्थानमा कम?” भन्ने मुख्य विषयलाई केन्द्रमा राखिएको थियो। सहभागीहरूले शिक्षा, पहुँच, संरचना, सीप विकासका अवसर र सामाजिक सोचाइजस्ता पक्षहरूले उपत्यकालाई केन्द्रित बनाइ दिएको तर स्थानीय क्षेत्रमा पनि अवसर सिर्जना गर्न सकिने सम्भावनाबारे चर्चा गरे। यससँगै स्व-विकास, आत्मअभिव्यक्ति, हिम्मत र सहकार्य को आवश्यकताप्रति पनि सहभागीहरूको ध्यानाकर्षण भयो।
कार्यक्रमले विशेषगरी महिलाहरूलाई आफ्नो आवाज नदबाई बोल्न, आफ्ना भावनालाई मान्यता दिन र परस्पर सुन्ने संस्कृतिबाट आत्मविश्वास बढ्ने संदेश दिएको संयोजकहरूले बताए। सहभागीहरूले यस्तो खुला र सुरक्षित संवाद स्थलले आत्मबल, बहस क्षमता र सामाजिक सहभागितामा सहयोग पुर्याउने उल्लेख गरे।
यस किसिमका संवादात्मक कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्दै जानु आवश्यक रहेको सहभागीहरूको निष्कर्ष रहेको थियो। कार्यक्रम सकारात्मक ऊर्जा, सह-अनुभूति र प्रेरणादायी अन्तःक्रियासहित सम्पन्न भएको थियो।


