भोजपुर | भोजपुरको अरुण गाउँपालिकामा सञ्चालित पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना अन्तर्गत बगैँचा निर्माण कार्यको अनुगमन सम्पन्न गरिएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा प्रकाशित सूचनाअनुसार सम्झौता गरी बिरुवा रोपण कार्य सम्पन्न गरेका छ वटा फर्महरूको कार्य प्रगति अनुगमन गरिएको हो। अनुगमन कार्य २०८२ कार्तिक २० र २१ गते गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।
अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष, कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख, वडा नं. ३ का वडा अध्यक्ष, अरुण गाउँपालिकाको कृषि शाखा प्रमुखलगायत सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
टोलीले बगैँचाको अवस्थाबारे स्थलमै अवलोकन गर्दै आवश्यक सुझाव तथा सुधारका बुँदाहरू पनि प्रस्तुत गरेको छ। गाउँपालिकाले आगामी वर्षहरूमा यस आयोजना मार्फत स्थानीय किसानलाई अझ प्रभावकारी रूपमा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ।


