बराहक्षेत्र ।  सुनसरीको बराहक्षेत्र नगरपालिकाले गाईभैंसीमा देखा पर्ने खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु गरेको छ । अभियानको शुभारम्भ वडा नं. २ स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको गाई फार्मबाट सुरु गरिएको हो ।

"गाईभैंसीमा खोरेत रोग विरुद्धको निःशुल्क खोप लगाऔं, पशुजन्य उत्पादनको निर्यातमा टेवा पुर्‍याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔं" भन्ने नाराका साथ सञ्चालन भएको अभियान कार्तिक २३ गतेदेखि मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, उप–प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, वडा अध्यक्षहरू तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो ।

नगरपालिकाको पशु सेवा शाखा प्रमुख बिमल अधिकारीका अनुसार यो अभियानले नगरभित्रका पशुपालक कृषकहरूलाई खोरेत रोग नियन्त्रणमा सहयोग पुर्‍याउने र उत्पादन वृद्धिमा योगदान गर्नेछ ।

यो अभियान उद्योग, कृषि तथा पशु विकास निर्देशनालय, कोशी प्रदेश विराटनगरको सहयोग र बराहक्षेत्र नगरपालिका पशु सेवा शाखा चक्रघट्टी सुनसरीको आयोजनामा सञ्चालन गरिएको हो ।