इटहरी। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले किरात धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङ्देनलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यवहारिक नीति नियम बनाउने दार्शनिकको रूपमा लिइने गरेको बताउनुभयो । मङ्गलबार फाल्गुनन्द जयन्तिको शुभकामना सन्देश दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यवहारिक नीति नियम बनाउने दार्शनिकको रूपमा लिइन्छ । विशेषगरी फाल्गुनन्द लिङ्देनले लिम्बू समाजमा हुने विकृति, विसंगतिको विरुद्धमा आवाज उठाउनुभयो, प्रवचन दिनुभयो । उहाँले किरात धर्म, संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिनुहुने फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच आपसी सहिष्णुता र सद्भाव कायमका साथै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।


