इटहरी ।  मोरङको पथरीशनिश्चरे–३ स्थित महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहले हराउँदै गएको सांस्कृतिक धरोहर सङ्गिनी नाचलाई पुनर्जीवित गर्ने अभियान थालेको छ । आधुनिक युगका डिजिटल मनोरञ्जनका साधन टेलिभिजन, युट्युब, अनलाइन खेल, स्मार्ट फोन० मा रमाइरहेको नयाँ पुस्ताका किशोरीलाई यस समूहका आमाहरूले आफ्नै संस्कृतिसँग जोड्ने काम गरिरहनुभएको छ ।  मनोरञ्जन र सञ्चारका साधन नहुँदा, विवाह, व्रतबन्ध र धार्मिक मेलामा गाउँघरमा रातभर बालन र सङ्गिनी खेल्दै रमाउने चलन थियो । रात काट्न पुरुषले बालन र महिलाले सङ्गिनी नाचेर आफ्नो संस्कृति जोगाउने काम गर्थे । अहिले ती परम्परा हराउँदै गएका छन् ।

यस्तो अवस्थामा पथरीशनिश्चरेका ४१ जना आमाको यो समूहले पुरानो परम्परालाई नयाँ पुस्तासँग पुनः जोड्न मेहनत गरिरहनुभएको छ ।  किशोरीहरू हरेक साँझ अध्ययनको काम सकेर स्थानीय मन्दिर र सामुदायिक भवनमा गीत र तालमा अभ्यास गर्छन्  । षष्टिकासँगै कुस्मा भट्टराई, प्रकृति खतिवडा, अमिषा खतिवडा, अपेक्षा खतिवडा, दीपिका भट्टराई, सम्पदा घिमिरे, आकृति पोखरेल र मेलिना पोखरेलले पनि सङ्गिनी नाचको अभ्यास गरिरहनुभएको छ । उहाँहरू मेलापातमा गाइने विरह गीतदेखि लिएर महिला सशक्तीकरणका आधुनिक गीतसम्म गाउँदै नाच्ने गर्नुहुन्छ । महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी  समूहकी अध्यक्ष ७० वर्षीय मनमाया पोखरेलले  सङ्गिनी नाच लोप नहोस् भन्ने उद्देश्यले पछिल्लो पुस्तालाई सांस्कृतिक सिप हस्तान्तरण गरेको बताउनुभयो  ।