विश्व प्रकाश तिम्सिना
नेपाली कांग्रेस(झापा),युवा नेता
नेपालको राजनीतिक तापक्रम फेरि बढ्दैछ। पछिल्लो राजनीतिक घटना क्रम पछि प्रधानमन्त्रीको राजीनामापछि बनेको अन्तरिम सरकारले देशलाई अस्थिरताबाट स्थायित्वतर्फ लैजान सक्ने कि फेरि चुनावको बाटो रोज्ने — यही बहस अहिले देशभर छाएको छ। सत्ता समीकरणहरू फेरबदल भइरहेका छन्, दलभित्र गुटबन्दी अझै उस्तै छ, र सडकमा जनभावना फेरि परिवर्तनको स्वरमा गुन्जिरहेको छ।
फागुन २१ गते मध्यावधि निर्वाचन हुने सम्भावनाले राजनीतिलाई नयाँ दिशा दिनसक्ने अनुमान गरिँदैछ। निर्वाचन आयोगले प्रारम्भिक तयारी थालेको बताइए पनि दलहरूबीच सहमति अझै बनेको छैन। तर जनतामा भने “यो पटक केही नयाँ हुनुपर्छ” भन्ने आकांक्षा बलियो बन्दै गएको छ। पटकपटक टेस्टेड बाट देशको निकास हुदैन अब राजनीतिक अवस्था परिवर्तन गर्न नयाँ अनुहार,नयाँ उर्जाशिल विचार देखा पर्न जरुरी छ। जेन्जीको उदय एउटा जिवन्त उदाहरण हो। सुदन गुरुन,मिरज ढुंगाना,बालेन शाह जस्ता पात्रको उदयले नि प्रष्ट पार्छ।
नेपाली कांग्रेसभित्र आत्ममन्थनको समय आएको छ। पटक–पटक सत्तामा पुगे पनि पार्टीले जनताको भरोसा जोगाउन सकेको छैन। आन्तरिक गुट, नेतृत्व विवाद र युवापुस्ताको उपेक्षाले कांग्रेस कमजोर बन्दै गएको छ।
नेकपा (एमाले) मा पनि एकता भन्दा बढी प्रतिस्पर्धा देखिन्छ। केपी शर्मा ओलीको नेतृत्वपछि पार्टीले नयाँ पुस्तालाई कसरी समेट्ने भन्ने प्रश्न अझै अनुत्तरित छ।
माओवादी केन्द्रमा फेरि “पुरानो सोचले नयाँ पुस्ता तान्न सक्दैन” भन्ने आलोचना तीव्र छ। डर,त्रासले गर्दा पछिल्लो समयमा पार्टी समीकरण र एकता भैरहेकोले काले काले सब मिलि खाउ भाले लाई छर्लङ्ग दर्शाउछ।
यसबीच नयाँ दल र स्वतन्त्र समूहहरूको गतिविधि बढ्न थालेका छन्। पुराना दलप्रति जनता थकित देखिन थालेका छन्, र यो जनभावनाले राजनीतिक मानचित्र नै परिवर्तन गर्न सक्ने विश्लेषण गर्न थालिएको छ।
गत वर्षको युवापुस्ताको आन्दोलनले राजनीतिक प्रणालीमाथि गहिरो प्रश्न उठाइसकेको छ। रोजगारी, पारदर्शिता, शिक्षा र स्वतन्त्र अभिव्यक्तिका माग लिएर उठेका प्रदर्शनहरूले “पुरानो राजनीति” लाई चुनौती दिएका छन्।
चिया पसलमा साथीभाइहरु सँग चियागफ गर्दा विज्ञहरु भन्छन्, “हामीलाई नेताको भाषण होइन, नतिजा चाहिन्छ। हाम्रा सपना नेपालमै पुरा होऊन् — यही हाम्रो आन्दोलन हो।”
सामाजिक सञ्जालमा “अबको चुनाव, परिवर्तनको लागि” भन्ने ह्यासट्याग ट्रेन्ड भइरहेका छन्। यसले स्पष्ट गर्छ — जनता अब केवल स्थायित्व होइन, जवाफदेही नेतृत्व पनि खोजिरहेका छन्।
राजनीतिक विश्लेषक डा. चैतन्य अधिकारी भन्छन्, “नेपाल अहिले नयाँ राजनीतिक संस्कृतितर्फ यात्रा गर्दैछ। दलहरूले सुधार नगरे, युवा पुस्ताले उनीहरूलाई विस्थापित गर्न सक्छ।”
उनका अनुसार, “मध्यावधि चुनाव भएमा यो केवल सरकार बदल्ने प्रक्रिया होइन — पुरानो राजनीतिक सोचको अन्त्य र नयाँ युगको सुरुवात पनि हुनसक्छ।”
अर्का विश्लेषक डा. अमृत पोखरेल भन्छन्, “जनताको भरोसा दलभन्दा माथि पुगेको छ। यो राजनीतिक संक्रमण होइन, सामाजिक चेतनाको रूपान्तरण हो।”
अर्थतन्त्र सुस्त छ, बेरोजगारी बढ्दो छ, र संघीयता कार्यान्वयनमा अझै अपूरो काम बाँकी छ। यस्तो अवस्थामा आगामी चुनावले केवल नेतृत्व होइन, देशको दिशा नै निर्धारण गर्न सक्छ।
यदि दलहरूले आन्तरिक सुधार, जवाफदेहिता र नयाँ पुस्ताको अपेक्षा बुझ्न सके भने स्थायित्वको सुरुवात हुनेछ। तर यदि पुरानै शक्ति खेल र टिकटको हडबडी दोहोरियो भने जनताको आक्रोश फेरि सडकमा ओर्लनेछ।
नेपाल अहिले निर्णायक मोडमा छ :- फागुन २१ केवल मिति होइन, सम्भवतः इतिहासको नयाँ अध्याय बन्नसक्ने दिन पनि हो।


