इटहरी । धनकुटा जिल्ला अस्पताल परिसरमा आकस्मिक रक्तसञ्चार सेवा अर्थात् ब्लड बैंकको शुभारम्भ गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी धनकुटाले विभिन्न दाताहरूको सहयोगमा ६४ औँ रेडक्रस स्थापना दिवसको अवसर पारेर रक्तसञ्चार सेवा सुरु गरेको हो। स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा धनकुटा जिल्ला अस्पताल परिसरमा आकस्मिक रक्तसञ्चार सेवाको औपचारिक उद्घाटन गरिएको हो। अहिले सञ्चालनमा आएको रक्तसञ्चार केन्द्रमा करिब १ सय युनिट सम्म रगत भण्डारण गर्न सकिने क्षमता रहेको नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाले जनाएको छ।  धनकुटामा आकस्मिक अवस्थामा रगतको अभाव हुन नदिन यो सेवा सञ्चालनमा ल्याइएको हो।

हाल करिब १ सय युनिट रगत भण्डारण गर्न सक्ने क्षमता रहेको र आगामी दिनमा आवश्यकता अनुसार क्षमता थप विस्तार गर्दै लैजाने योजना रहेको धनकुटाका सभापति छत्रकुमार श्रेष्ठले जानकारी दिनुभयो। जिल्ला अस्पतालमै रक्तसञ्चार सेवा सुरु भएपछि दुर्घटना, प्रसूति, शल्यक्रिया तथा अन्य आकस्मिक अवस्थामा बिरामीलाई आवश्यक पर्ने रगत सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा पूर्वमन्त्री निरन राई, जिल्ला समन्वय समिति प्रमुख निरन तामाङ, पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालयका प्रमुख तथा धनकुटाका विभिन्न सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो। स्थानीय तह, रेडक्रस, स्वास्थ्य संस्था तथा विभिन्न दाताहरूको सहकार्यमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रले धनकुटा सहित आसपासका क्षेत्रका बिरामीलाई समेत राहत पुग्ने विश्वास गरिएको छ ।