सुनसरी । नेकपा एमालेले कात्तिक २९ गते सुनसरीका विभिन्न क्षेत्रमा भव्य सहभागीता सहित जनजागरण र्‍याली र कोणसभाको तयारी पूरा गरेको जनाएको छ। पार्टीका जिल्ला अध्यक्ष परशुराम यादवका अनुसार यस पटकको र्‍यालीमा ३ हजारभन्दा बढी मोटरसाइकल सहभागी हुने अनुमान गरिएको छ। स्थानीय तहदेखि जनस्तरसम्म व्यापक रूपमा सहभागिता सुनिश्चित गर्न सबै पक्षले सक्रिय रूपमा अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो।

एमाले सुनसरीले युवादेखि व्यापारी, स्थानीय प्रतिनिधि तथा तल्लो तहका संरचनालाई समेत समन्वय गर्दै र्‍यालीलाई ऐतिहासिक बनाउन तयारी तीव्र बनाएको छ। जिल्लाका विभिन्न भागमा मोटरसाइकल र्‍यालीका लागि टोलीहरू गठन गरिएका छन् भने सुरक्षा र व्यवस्थापनका लागि आवश्यक संयन्त्र पनि परिचालन गरिएको छ।

शनिबार बिहान दुहबी र धरानबाट छुट्टाएकी दुईवटा ठूला मोटरसाइकल समूह इटहरीमा भेला हुनेछन्। त्यहाँबाट रामधुनी हुँदै इनरुवा प्रवेश गरिनेछ। सोही क्रममा बराहक्षेत्रतर्फबाट अर्को ठूलो समूह रामधुनी हुँदै मुख्य र्‍यालीमा मिसिनेछ।

यस्तै बर्जु, देवानगंज, हरिनगर र कोशी गाउँपालिकाबाट पनि मोटरसाइकल र्‍यालीका समूहहरू छुट्टाछुट्टै निस्केर इनरुवातिर अग्रसर हुनेछन्। सबै रुटबाट आएका सहभागीले इनरुवामा भव्य रुपमा एकै ठाउँ भेला भई शक्ति प्रदर्शन गर्ने र उक्त जनजागरण र्यालीबाट भेला भएको कोणसभा लाई इनरुवामा करिब १:३० बजे नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सम्बोधन गर्ने नेकपा एमाले सुनसरी जिल्ला सचिव राम कोइरालाले बताउनुभयो। 

एमालेले यो जनजागरण अभियानलाई आगामी राजनीतिक गतिविधि, संगठन सुदृढीकरण तथा जनविश्वास पुनःस्थापनाको अभिभावक कार्यक्रमको रूपमा लिएको बताएको छ।