इटहरी । इटहरी वडा नं. १७ मा रहेको श्री राम जानकी शान्ति बृद्धाश्रममा बस्दै आएका वृद्धा आमाहरुका निम्ति मानव अधिकार तथा शान्ति समाज सुनसरीले खाद्यन्न सामग्री प्रदान गरेको छ ।
शुत्रबार आफ्नो वार्षिकोत्सवको अवसरमा आमाहरुको दैनिक गुजारा टार्नका निम्ति चामल, चिनी र दाल सहयोग गरिएको संस्थाका जिल्ला सभापति रोबनराज कार्कीले बताए । वृद्धा आमाहरुलाई खाद्य सामग्री साहित्यकार टीका आत्रेयको प्रमुख आतिथ्यतामा प्रदान गरिएको हो ।
वृद्धाश्रम सञ्चालक समितिका सदस्य सन्तोष ओझाका अनुसार आश्रममा बस्ने महिलाहरुका लागि विभिन्न दातासँगै सरकारी निकायबाट पनि बेला बेलामा सहयोग गर्ने गरिएको छ । वृद्धा आमाहरुलाई स्याहार गर्नका लागि आश्रम सञ्चालक समितिले दुई जना महिला कर्मचारी नै नियुक्त गरि खटाउँदै आएको छ । वृद्धा आश्रममा यतिबेला १५ जना आमाहरु रहेका छन् । 
सोही क्रममा इटहरीको टेङ्ग्रा खोलाको किनारमा गरीव तथा पिछडिएका समूदायका बालबालिकालाई लामो समयदेखि निःशुल्क रुपमा बिहान बेलुका पढाउदै आएका चन्द्र भण्डारीलाई नगदसहित सम्मान गरियो । उनलाई नगद सात हजार एक रुपैयाँ प्रदान गरियो । मानव अधिकार तथा शान्ति समाज सुनसरी सभापति रोबनराज कार्कीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति आत्रेय, मानव अधिकार तथा शान्ति समाज केन्द्रबाट सहभागी धना थापा, सम्मानित व्यक्तित्व भण्डारी, केन्द्रीय सदस्य सीतराम कोइराला, जिल्ला सहसचिव मातृका भट्टराईलगायतले बोलेका थिए ।

