इटहरी । विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरीले धरानमा ठूलो परिमाणको गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–४ बौद्ध बिहार नजिक कोशी राजमार्गमा प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र भेडेटारबाट खटिएको संयुक्त टोलीले दुई मोटरसाइकललाई जाँचका लागि रोक्न खोज्दा चालकहरू फरार भएका थिए । भेडेटारबाट धरानतर्फ आइरहेका को ३० प ४५४४ र बा ५१ प ५४१३ नम्बरका मोटरसाइकल रोक्न खोज्दा रोक्न नमानेपछि पछ्याउने क्रममा दुवै चालक मोटरसाइकल छाडेर फरार भएका हुन् । पछि चेकजाँच गर्दा दुवै मोटरसाइकलमा प्याक गरिएको अवस्थामा ४९ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको लागूऔषध तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय धरानमा लगेर राखिएको छ भने फरार व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

