सुनसरी । नेकपा एमालेले कात्तिक २९ गते सुनसरीका विभिन्न स्थानमा विशाल जनजागरण र्याली आयोजना गर्दै इनरुवामा भव्य कोणसभा सम्पन्न गरेको छ। जिल्लाभरिका नेता-कार्यकर्ता, युवा, व्यापारी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागितासहित कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको हो।
जिल्ला अध्यक्ष परशुराम यादवका अनुसार र्यालीमा ६,००० भन्दा बढी मोटरसाइकल सहभागी थिए। विभिन्न स्थानीय तह, वडा संरचना तथा जनस्तरसम्मको सक्रिय समन्वयमा इतिहासकै भीडसहित र्याली अघि बढेको उहाँले बताउनुभयो।

र्यालीका प्रमुख मार्गहरू
दुहबी र धरानबाट छुट्टिएर निस्किएका दुई ठूला मोटरसाइकल समूह इटहरीमा भेला भई रामधुनी हुँदै इनरुवा प्रवेश
बराहक्षेत्रबाट निस्किएको अर्को ठूलो समूह पनि रामधुनी हुँदै मुख्य र्यालीसँग मिसियो
त्यस्तै बर्जु, देवाङगंज, हरिनगर र कोशी गाउँपालिकाबाट छुट्टाछुट्टै निस्किएका समूहहरू इनरुवामा एकै ठाउँमा भेला
सहभागिताको ठूलो संख्याले सुनसरीमा एमालेको संगठनात्मक शक्ति तथा जनआधारको सशक्त प्रदर्शन गरेको देखिएको छ।
इनरुवामा कोणसभा
इनरुवा पुगेपछि सम्पन्न कोणसभालाई नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सम्बोधन गर्दै हालको जनजागरण अभियानले देशभर जनस्तरमा नयाँ ऊर्जा सिर्जना गरेको बताउनुभयो।
कार्यक्रमका सम्बन्धमा एमाले सुनसरीका सचिव राम कोइरालाले जनजागरण अभियानलाई पार्टीले आगामी राजनीतिक गतिविधि, संगठन सुदृढीकरण तथा जनविश्वास पुनःस्थापनाको निर्णायक अभियानका रूपमा अघि बढाएको टिप्पणी गर्नुभयो। रली तथा कोणसभामा नेकपा एमाले केन्द्रीय सदस्य भगवती चौधरी, इन्दु गौतम, लक्ष्मी गौतम, मञ्जु भण्डारी, अमृता सांवा, तयव हुसैन साथै मातहत कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो ।
एमालेले सुनसरीमा गरेको शक्ति प्रदर्शनले आगामी दिनमा हुने राजनीतिक गतिविधिमा महत्वपूर्ण प्रभाव पार्ने विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ।


