इटहरी । ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका षडानन्दका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहजता भएको छ । षडानन्द नगरपालिका–७ र ११ लाई जोडने यो  खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो । बर्खाको समयमा खोला ठुलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताउनुभयो । विगतमा खेत आउँदा उर्लिँदो भेल तरेर जानुपर्ने समस्या रहेको उहाँको भनाइ छ । अब भने जोखिम मोलेर काठको फड्केबाट खोला तर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो ।

यो खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयको दैनिकी सहज बनेको स्थानीयवासी दीपबहादुर मगरले बताउनुभयो । मुख्य रूपमा बर्खाको समयमा आवतजावतमा धेरै समस्या हुने गरेको उहाँको भनाइ छ । यहाँ  ४८ लाख १२ हजार ८२५ लागतमा पुल निर्माण सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले बताउनुभयो । स्थानीयको समस्यालाई ध्यानमा राखेर खकुवाखोलामा झोलुङ्गे पुल निर्माण गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । नगरपालिका क्षेत्रमा आवश्यक पर्ने  अन्य झोलुङ्गे पुलको तथ्याङ्क लिएर निर्माणको कामलाई योजनाबद्ध रूपमा अघि बढाएको उहाँले जानकारी दिनुभयो ।