इटहरी । नेपाली हाते कागज बनाउने कच्चा पदार्थ बोकेर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १३ लुङरुपातर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदै एक जनाको घटनास्थमै मृत्यु भएको छ । फिदिम नगरपालिका वडा नम्बर १४ लुङरुपा निवासी पञ्चे राईको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । साथै अन्य दुईजना घाइते भएका छन् । इलामको सन्दकपुर गाउँपालिकादेखि हाते कागज बनाउने लोक्ता बोकेर पाँचथर आँउदै गरेको ट्याक्टर सिमावर्ती गोरुवालेस्थित सडकबाट खोँचमा खसेर दुर्घटना भएको हो । दुर्घटना पश्चात ट्याक्टरका चालक फरार भएको पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार घाइते दुवै जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । शनिबार राति  प्रदेश १ ०२–००३ त ३४०२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।