इटहरी । इलामका दुई जलविद्युत् आयोजना कम्पनीले अतिप्रभावित क्षेत्रलाई बेवास्ता गरेको भन्दै इलाम नगरपालिका–८ का स्थानीयवासी आन्दोलित भएका छन् । इलामको माईखोलामा सञ्चालनमा रहेको साम्लिङ हाइड्रोपावर कम्पनीको माइबेनी जलविद्युत् आयोजना र माईखोला हाइड्रोपावर कम्पनीको सुपरमाई क्यास्केट आयोजनाको अति प्रभावित क्षेत्रमा रहेका बासिन्दा यी आयोजनाले स्थानीयको प्राथमिक आवश्यकता समेत पूरा नगरेको भन्दै आन्दोलित भएका हुन् । नौ दशमलव आठ मेगावाटको माईबेनी जलविद्युत् आयोजना र तीन मेगावाटको सुपरमाई क्यासकेटको एक किलोमिटर क्षेत्रभित्र रहेको गाउँका बासिन्दाले यी आयोजनाहरूले निर्माणपछि पनि अतिप्रभावित क्षेत्रका लागि कुनै पूर्वाधार र सामाजिक विकासका लागि केही नगरेको बताएका छन् । यहाँका बासिन्दाले तिल्केनी देखि आयोजनास्थल माईखोला सम्मको चार किलोमिटर सडक कालोपत्रे गरिनुपर्ने, गाउँमा खानेपानीको प्रबन्ध गर्नुपर्ने, स्थानीय विद्यालयमा शैक्षिक गुणस्तरका लागि लगानी गर्नुपर्ने, वन क्षेत्रमा वृक्षारोपण गर्नुपर्ने, स्थानीय खेलमैदानको स्तरोन्नति गर्नुपर्ने, स्थानीयको रोजगारीका लागि उद्धमशिला सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने माग राखेको स्थानीय मानबहादुर गुुरुङले बताउनुभयो । यी आयोजना निर्माण चरणका समयमा स्थानीय सडक कालोपत्रे गर्ने सर्तमा आफूहरूले एक महिनासम्म तिल्केनी–माईखोला सडकमा काम गरेको अर्का स्थानीयवासी डम्बर बानियाँले बताउनुभयो । यो गाउँको भित्रबाट विद्युत् आयोजनाका लागि सुुरुङ खनिएको र सुरुङका कारण स्थानीय जमिन दब्ने र खानेपानीका मुहानहरू सुुक्ने समस्या भएको स्थानीयले बताएका छन् । गाउँनै पानी नभएर सुुख्खा हुने भएपछि स्थानीयले सरकार र आयोजनाको समेत ध्यानाकर्षण गराउन प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित मानवअधिकारकर्मी  र सञ्चारकर्मीहरूलाई आफ्नो समस्या सुनाएका छन् ।