इटहरी । भोजपुरको हतुवागढी गाउँपालिकामा छात्राहरुलाई महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम प्रदान गरिएको छ । पुनम फाउण्डेशनद्धारा आयोजित महिला हिंसा विरुद्ध आत्मरक्षा तथा खेलकुद प्रशिक्षण कार्यक्रम शनिबार हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किरातिले उद्घाटन गर्नुभएको हो । श्री सगरमाथा माध्यमिक विद्यालय घोडेटारको सहकार्यमा आयोजित प्रशिक्षणमा पञ्चकन्या, भिमेश्वरी र सगरमाथा माविबाट छात्रा विद्यार्थी र शिक्षिकाहरुको उपस्थिति रहेको थियो । प्रशिक्षणमा बलात्कार र महिलाहरुमाथि हुने गरेको हिंसालाई कम गर्न सैद्धान्तिक र व्यवहारिक सिप प्रदान गरिएको थियो । खेलकुदमा महिलाहरुको सहभागिता वृद्धी गर्न र छात्राहरूलाई भविष्यमा यौनजन्य हिंसा मात्र नभई घरेलु हिंसाबाट बच्न तालिमको आयोजना गरिएको फाउण्डेशन सचिव तथा प्रमुख प्रशिक्षक मोहन विश्वकर्माले बताउनुभयो । सहभागीले तालिम पश्चात हिंसाको पहिचान र आत्मरक्षाका लागि सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । बहुउद्देश्यीय कबर्डहलमा आयोजित दुईदिने प्रशिक्षण सगरमाथा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष इश्वरमान राईको अध्यक्षतामा आइतबार समापन गरिएको हो ।