इटहरी । धार्मिक तथा पर्यटकीय सम्भावना बेहोरेको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापना गरिएको १०८ शिवलिङ्ग परिसरमा आगामी मंसिर ३ गते बाला चतुर्दशी पर्वअन्तर्गत शतबिज छर्ने तयारी अन्तिम चरणमा पुगेको छ। दिवंगत पितृको मोक्षका लागि शतबिज छर्न अन्यत्र टाढासम्म धाउनुपर्ने बाध्यता अब स्थानीयस्तरमै समाप्त हुने भएको छ। माया घर छेउमा रहेको नयाँ त्रिनेत्र मोक्षधाममा श्रद्धालुहरूले आफ्ना पितृहरूको चिरशान्तिका निम्ति मनोकामना राखेर शतबिज छर्न सक्ने केन्द्रकी अध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी दिइन्। मंसिर २ गते साँझ दीप प्रज्वलन, भजन सन्ध्या, जाग्राम, शिवकीर्तन तथा कथा वाचन हुनेछ भने मंसिर ३ गते बिहान ३ बजेदेखि शतबिज छर्ने विधि सुरु हुनेछ। १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक बाला चतुर्दशी मनाउन लागिएको हो। चतुर्दशीको अघिल्लो दिन महादीपदानका लागि श्रद्धालुहरू रातभर बसेपछि भोलिपल्ट बिहान स्नान गरी शिवलिङ्ग क्षेत्रमा प्रवेश गर्नेछन्। यसो गर्दा दिवंगत पितृले मोक्ष पाउने धार्मिक विश्वास छ। श्रद्धालुहरूको सुविधाका लागि बस्नका लागि सुरक्षित आवास, भोजन तथा स्नान कक्षको व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ। श्रद्धालुको भीडलाई ध्यानमा राख्दै कार्यक्रमस्थल वरपर सुरक्षा व्यवस्थासमेत कडाइ गरिएको छ। यो क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा अघि बढाउन कोशी प्रदेश मुख्यमन्त्रीको कार्यालय, प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय तथा स्थानीय तहसँग सहकार्य गर्दै योजना कार्यान्वयन भइरहेको अध्यक्ष प्याकुरेलले बताइन्। गत भदौ १९ गते कोशी प्रदेशसभा सांसद भीम पराजुलीले १०८ शिवलिङ्ग शिलान्यास गरेका थिए। अध्यात्ममार्फत मानव जीवनलाई सहज र सरल बनाउने उद्देश्यसहित स्थापना गरिएको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले गत कार्तिक १४ देखि २१ गतेसम्म श्रीमद्भागवत धान्याञ्चल जीवनदर्शन सत्सङ्ग कार्यक्रम भव्य रूपमा सम्पन्न गर्दै १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा पनि गराएको थियो।

