इटहरी | त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको आयोजनामा इटहरी–२, सुनसरीस्थित माया घर नेपालको नजिक निर्माण गरिएको १०८ शिवलिङ्ग स्थल भव्य कार्यक्रमसहित सम्पन्न गरिएको छ। केन्द्रको केन्द्रीय समितिको अभिभावकत्व तथा कोशी प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा धार्मिक तथा सांस्कृतिक महायज्ञमार्फत शिवलिङ्ग स्थापना तथा प्राण–प्रतिष्ठा सम्पन्न भएको हो।

भक्तपुरमा निर्मित नेपाली शैली झल्कने कलात्मक इटाको आसन तथा नेपालकै कालीगण्डकी क्षेत्रका शिलाबाट बनेका १०८ शिवलिङ्गहरूको प्राण–प्रतिष्ठा कार्यक्रम २०७१ कात्तिक १४ देखि २१ गतेसम्म सञ्चालन गरियो। असार शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म नियमित रूपमा चतुर्मास महायज्ञ, पाठ–पारायण, सवा ११ लाख दिप प्रज्वलन र विशेष शंखघोषसहितको सप्ताह ज्ञान महायज्ञ सम्पन्न गरिएको संस्थाले जनाएको छ ।

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको दीर्घकालीन योजना–अन्तर्गत यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश तथा इटहरी उप–महानगरपालिकाको साझेदारीमा स्थल निर्माण कार्य सम्पन्न गरिएको हो।

यस धार्मिक क्षेत्र नजिकै माया घर नेपाल, नेपाल शेर्पा संघ, धनकुटा–इटहरी सम्पर्क समाज, सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) सामुदायिक भवन, विष्णु पाञ्चायन मन्दिर, दाहाल प्रतिष्ठान र कुष्माखर सुवेदी कुल प्रतिष्ठान जस्ता संस्थाहरू अवस्थित छन्, जसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भना बढाएको छ।

स्थलको शिलान्यास  भदौ १९ गते गरिएको थियो भने दुई महिनामा १०८ शिवलिङ्ग स्थापना सम्पन्न गरिएको हो।

कार्यक्रममा संस्थाले आय–व्यय विवरण पनि सार्वजनिक गरेको छ।भूमिदान तथा १०८ शिवलिङ्ग निर्माण, घण्ट, नन्दी, हनुमान, शिव मूर्ति, आसन, रुद्राक्ष शिवलिङ्ग तथा ९ मिटर त्रिशुल निर्माणमा रु ४६,३१,०४० खर्च भएको छ।

असारदेखि कात्तिक २१ गतेसम्म सञ्चालन भएको महायज्ञमा रु २३,१८,१३३ खर्च भयो। चतुर्मास यज्ञमा रु ६,३१,५४१ खर्च भएको छ।

आम्दानीमा  पूर्वाधार तथा शिवलिङ्ग दानमार्फत रु ४५,९४,३०४ संकलनसप्ताह ज्ञान महायज्ञ तर्फ रु ९,५१,०५९ आम्दानी, कुल आम्दानी रु ५८,१६,७८९ रहेको छ भने कुल खर्च रु ७५,८०,७१४ पुगेको संस्थाले जनाएको छ। अपुग रकम कोशी प्रदेश सरकार तथा इटहरी उप–महानगरपालिकासँग समन्वय गरी व्यवस्थापन गरिनेछ।

हाल ९ मिटर अग्लो त्रिशुल निर्माणाधीन अवस्थामा रहेको र आउने शिवरात्रिका अवसरमा विशेष समारोहमार्फत स्थापना गर्ने तयारी भएको केन्द्रले जनाएको छ।

शिवलिङ्ग क्षेत्रको पश्चिमपट्टि आकर्षक शिलास्तम्भ, कम्पाउण्डवाल, प्रवेशद्वार तथा शिव मूर्तिको विशेष आसन निर्माण कार्य पनि अघि बढाइएको छ।

आगामी मंसिर ३ गते हुने बालाचतुर्दशीका लागि अघिल्लो दिन अर्थात् आज मंसिर २ गते राति दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ।