✍️विश्व प्रकाश तिम्सिना(शर्मा)
नेपाली कांग्रेस युवा नेता(झापा)
आगामी चुनावको घडी नजिकिँदै गर्दा संस्थापन पक्षले नियमित वा विशेषमहाधिवेशन कुनै पनि तत्काल गर्न नसकिने निष्कर्ष निकालेपछि नेपाली कांग्रेसभित्रको असन्तोष चरम बिन्दुमा पुगेको छ । नेतादेखि सामान्य कार्यकर्तासम्म, सबैको मुखमा एउटै प्रश्न छ—यदि चुनाव अघि महाधिवेशन नै हुँदैन भने पार्टीको अस्तित्व के बाँच्छ ? चुनावपछि महाधिवेशन गर्ने प्रस्तावले त झनै कार्यकर्ताको मनोबल भंग गरिदिएको छ । उनीहरू ठोकुवासाथ भन्छन् चुनावपछि नेतृत्व फेरिने ग्यारेन्टी छैन, फेरि उहीँ पुरानै अनुहारहरू पार्टीको भाग्य लेख्न फर्कने हुन् भने कांग्रेसको औचित्य नै शून्य बन्छ ।
आज कांग्रेसभित्रको वास्तविक समस्या नेतृत्व मात्र होइन, नेतृत्वप्रति घट्दो विश्वास हो । दशकौंदेखि हजारौं कार्यकर्ताले मिहिनेत गर्दै बनाएको पार्टी, आज उहीँ पुरानै ढाँचामा चलाउने, गुटको अंकगणितमा जसले खेल जित्छ ऊ नै नेता बन्ने शैलीमा गाँजिएको छ । अझ विडम्बना, आज लाखौं कार्यकर्ताले जिन्दगीभर साथ दिएको पुरानो नेतृत्वलाई नै अब रुचाउन छाडिसकेका छन् । तर संस्थापन पक्ष भने यिनै असफल अनुहारहरूमै फेरि भविष्य खोजिरहेको देखिन्छ । कार्यकर्ताहरूको प्रश्न कडा छ—जसले पार्टीलाई repeatedly कमजोर बनायो, देशमा विकल्पको ठाउँ अरू दललाई दियो, उसलाई जनता फेरि किन छानून ?
यता, महामन्त्रीहरू खुलेर हतोत्साहित देखिन थालेका छन् । उनीहरूले राजीनामादेखि लिएर आन्दोलनको तयारीसम्मका कुरा खुल्ला रूपमा बोल्न थालेका छन्, जुन नेपाली कांग्रेसको इतिहासकै असामान्य क्षण हो । पार्टीभित्रका शीर्ष पदाधिकारी नै असन्तुष्ट, तल्लो तहका कार्यकर्ता नै निराश यस्तो अवस्थाले कांग्रेसलाई चुनावी प्रतिस्पर्धामा खतरनाक मोडमा पुर्याइसकेको छ ।
अहिले कांग्रेसभित्रको सबसे ठूलो बहस के छ भने विशेष महाधिवेशन नै अबको मात्र विकल्प हो कि ? धेरैको ठम्याइ छ कि पार्टीलाई पुनर्जीवित गर्न, नयाँ पुस्तालाई अग्रभागमा ल्याउन, पुरानै नेतृत्वको प्रवृत्तिलाई अन्त्य गर्न र जनतासँग पुनः विश्वासको सम्बन्ध बनाउने सबैभन्दा प्रभावकारी बाटो यही हो । बेलैमा महाधिवेशन नगर्ने निर्णयले कांग्रेसलाई चुनावी मैदानमा थप कमजोर बनाउने मात्र होइन, पार्टीभित्रको असन्तुष्टि विस्फोटक बन्ने जोखिम पनि बढेको छ ।
वर्तमान राजनीतिक परिवेशमा जनता परिवर्तनको प्रतीक्षा गरिरहेका छन् । तर कांग्रेसभित्र उहीँ गुट, उहीँ शक्ति हस्तान्तरणको खेल, उहीँ पुरानो निर्णय प्रक्रिया सबैले पार्टीलाई समयको मागअनुसार बदलिन नदिएको आभास गराइरहेका छन् । परिवर्तनको नेतृत्व गर्ने ठाउँमा बसेकाहरू स्वयं परिवर्तनविरोधी जस्तो देखिन थालेपछि कांग्रेसप्रति जनविश्वास झनै झर्न पुगेको छ ।
यसैबीच, पार्टीभित्रको पुरानै पद्धति, गुटगत द्वन्द्व, जिम्मेवारीबाट भाग्ने प्रवृत्ति र नेतृत्वले समस्या सुन्न र समाधान खोज्न नसक्ने अडानले कांग्रेस आज ऐतिहासिक मोडमा उभिएको छ जहाँ सही समयमै सही निर्णय भएन भने पार्टी गठबन्धनमा होइन, अस्तित्वकै संघर्षमा फसिन सक्छ ।
अन्ततःकांग्रेसको बुद्धिमत्ता अब एउटा निर्णयमै निहित देखिन्छ—विशेष महाधिवेशन गरेर पार्टीलाई नयाँ उचाइमा पुर्याउने कि आन्तरिक जडतामा फस्दै क्रमशः कमजोर हुँदै जाने ?

