इटहरी । कुनै समय मोरङ जिल्लाकै चर्चित प्रहरी थानाका रूपमा रहेको मोरङको रङ्गेली–९ स्थित इलाका प्रहरी कार्यालय दोहमनाका प्रहरी भाडाकोे सटर कोठाभित्र बसेर शान्तिसुरक्षामा खटिएका छन् । सय वर्ष पुरानो मोरङकै पुरानो बजार दोहमनामा रहेको तत्कालीन प्रहरी चौकीलाई २०४८ सालमा इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको थियो । पुरानो भवन जीर्ण भएपछि कोशी प्रदेश सरकारले अढाई करोडको डिपिआर निर्माण गरी भवन निर्माण प्रव्रिmया अघि बढाएको थियो तर पहिलो किस्तामा ५१ लाख रुपियाँ विनियोजन भई टेन्डरमार्फत ३७ लाख रुपियाँमा कार्यालयको जग निर्माण भइसकेको छ ।
नगरपालिकाले घरभाडा तिरेर प्रहरी राखिरहेको जानकारी दिँदै शान्तिसुरक्षासँग सम्बन्धित कार्यालयलाई सरकारले प्राथमिकता दिनुपर्ने रङ्गेली नगरपालिका–९ का वडाध्यक्ष चूडामणि रेग्मीले बताउनुभयो । अहिले प्रदेश सरकारले इलाका प्रहरी कार्यालय दोहमना, प्रहरी चौकी अमरदह र बरडङ्गा प्रहरी चौकी निर्माणका लागि काम सुरु गरेको छ । पहिलो किस्ताको रकम आएर काम सकिइसक्दा पनि दोस्रो किस्ता आउने छाँट छैन । इलाका प्रहरी कार्यालय दोहमनाले वनकोल, फर्साडाँगी, बेलचोक, दर्वेसा, बटरबारी क्षेत्रमा शान्तिसुरक्षा दिइरहेको छ । प्रहरी निरीक्षकको दरबन्दीमा २३÷२४ जनाको दरबन्दी रहने दोहमना इलाका प्रहरी कार्यालयमा हाल प्रहरी सहायक निरीक्षकको कमान्डमा सात जना प्रहरी रहेका छन् । मोरङ प्रहरीका प्रहरी नायब निरीक्षक एवं प्रवक्ता कोपिला चँुडालले बहुवर्षीय बजेट भएकाले यस्तो समस्या भएको बताउनुभयो ।

