इटहरी । गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण इलामको चिया क्षेत्रमा चार कारोड रुपियाँभन्दा बढीको क्षति भएको छ । पहिरोले चिया सहकारीमा आबद्ध ९७ जना किसानको चिया बगान बगाउँदा चार करोड ७२ लाख ९० हजार रुपियाँभन्दा बढीको क्षति भएको केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ । जिल्लाका ४१ सहकारीमा आबद्ध किसानको चिया बगानमा क्षति पुगेको सङ्घका महासचिव रविन राईले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोका कारण चार चिया किसान परिवारको घरमा पूर्ण र १८ परिवारको घरमा आंशिक क्षति भएको छ । राईले चियाका लागि कुनै राहत र अनुदानको काम स्थानीय, प्रदेश र सङ्घ कुनै पनि तहका सरकारबाट नभएको बताउनुभयो । यता जिल्लाको कृषिक्षेत्रमै भने २७ करोड ३९ लाख ९५ हजार रुपियाँको क्षति भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
केन्द्रका अनुसार करिब तीन हजार चार सय कृषकले लगाएको ८९२ हेक्टर जमिनमा लगाइएको करिब तीन हजार २० मेट्रिक टन उत्पादनमा क्षति पुगेको कार्यालयको तथ्याङ्क छ । असोज १८ को विपत्पछि इलाममा ३९ जनाले पहिरोमा परी ज्यान गुमाएका छन् । एक जनाको अवस्था अझै बेपत्ता छ । यस्तै ३३८ घर पूर्ण रूपले क्षति भएका छन् र ८२८ घरमा आंशिक क्षति भएको छ । ४४९ परिवार विस्थापित भएका छन् भने ११ परिवार सामुदायिक भवनमा बस्दै आएको र बाँकी आफन्त र छिमेकीकोमा बस्दै आएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । असोज १८ को विपत्पछि इलामलाई सरकारले तीन महिनाका लागि सङ्कटग्रस्त जिल्ला घोषणा गरेको थियो । सङ्कटग्रस्त जिल्ला घोषणा भए पनि इलाममा अहिलेसम्म पुनर्निर्माणको ठोस काम भने हुन नसकेको सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।

