इटहरी । इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौलाको शव सर्दु जलाधारस्थित खोल्सामा फेला परेको छ। घटनाको परिस्थितिले शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ। गत २४ कार्तिक बिहान साढे ८ बजे घरबाट निस्किएकी उनी घर फिर्ता नआएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन दिएका थिए। खोजीका क्रममा २७ कार्तिकमा धरान उपमहानगरपालिका–४, बौद्ध विहार नजिक कोशी लोकमार्ग छेउमा रातो लेडीज स्विटर, कालो चप्पल, खैरो ब्याग र अन्य सामान फेला परेका थिए। इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार शव फेला परेको सर्दु जलाधार क्षेत्र धरान बजारबाट करिब १३ किलोमिटर उत्तर–पूर्वको दुर्गम भूभागमा पर्छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोस्टमार्टमका लागि पठाइसकेको छ। पोस्टमार्टम रिपोर्टपछि थप अनुसन्धान अगाडि बढाइने बताइएको छ।

