इटहरी । भोजपुरका किसान यो समयमा कोदो थन्क्याउने काममा व्यस्त छन्। धान भण्डारणको काम सकिएलगत्तै किसानहरू कोदो भण्डारणमा कार्यमा जुटेका हुन्। कोदो भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । कोदो खेती भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सीका, दावासँगै जिल्लाका सबै स्थानीय तहमा गरिन्छ। व्यावसायिक रूपमा खेती गर्ने किसान कम भए पनि घरायसी प्रयोजनका लागि अधिकांश किसान वर्षेनी कोदो रोप्ने गर्छन्। हाल स्थानीय बजारमा कोदो प्रतिकेजी ५० देखि ६० रुपियाँमा बिक्री भइरहेको छ । पुरानो रैथाने बाली भएकाले वर्षेनी कोदो लगाइरहेको किसान धनबहादुर थापाले बताउनुभयो । गाउँघरका किसान यो समयमा कोदो पिप्ने, कोदोको नरूवा थक्याउने, कोदो चुट्ने काममा व्यस्त रहेको उहाँको भनाइ छ । यस वर्ष वर्षातका कारण कोदो लडेकाले टिप्न अलि समस्या रहेको किसानको भनाइ छ । श्रम धेरै लाग्ने र उत्पादन कम हुने भएकाले यसतर्फ किसानको आकर्षण घट्दै गएको उहाँको भनाइ छ। कोदाको मूल्य स्थिर नहुँदा पनि बेचबिखनमा समस्या हुने गरेको किसानहरूको गुनासो छ । कोदोबाट रोटी, ढिंडो, केक, पेय पदार्थदेखि विविध परिकार बनाउन सकिने भएकाले यसको माग स्थिर रहँदै आएको छ। कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष पाँच हजार २७० हेक्टर क्षेत्रमा कोदोखेती गरिएको थियो । यस वर्ष पनि सोही हाराहारीमा कोदो खेती भएको केन्द्रले जनाएको छ ।

