मोरङ | मोरङको  सुन्दरहरैचा गछियामा गछिया युवा समाजको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण ANNE प्रथम गछिया गोल्डकप–२०८२ मंसिर १५ गतेदेखि सुरु हुने भएको छ। कुल ८ टिमको सहभागितामा हुने प्रतियोगिताले स्थानीय खेलकुद विकाससँगै युवामाझ सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकहरूले बताएका छन्।

“लागुऔषधले लिन्छ ज्यान, गछिया समाजको आह्वान— स्वस्थ रहन खेलमा ध्यान” भन्ने मुख्य नाराका साथ सुरु गर्न लागिएको यो प्रतियोगिताबाट समाजमा सकारात्मक ऊर्जा फैलाउने, युवाहरूलाई अनुशासन तथा स्वास्थ्यप्रति सचेत बनाउने र स्थानीय प्रतिभालाई मंच प्रदान गर्ने उद्देश्य रहेको मुल आयोजक समितिका संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिए।

प्रतियोगितामा विजेता टोलीलाई रु २ लाख १ हजार, उपविजेतालाई रु १ लाख १ हजार प्रदान गरिनेछ। त्यसैगरी ‘म्यान अफ द सिरिज’लाई रु २५ हजार ,उत्कृष्ट डिफेन्स, फर्वार्ड, मिडफिल्डर, गोलकिपर तथा प्रशिक्षकलाई जनही रु ११ हजार , प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई रु ५ हजार १ सय प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता खेलसँगै सामाजिक उत्तरदायित्व सहित अघि बढाइनेछ। सुन्दरहरैचा नगरपालिकाका १२ वडाका १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिने छ भने शारीरिक अपांगता भएका एक पुरुष र एक महिलालाई व्हिलचेयर वितरण गरिने छ।

त्यस्तै, गछिया वरपरका खेल क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान उज्यालो पारेका स्थानीय खेलाडीलाई ‘बिहानी सम्मान’ प्रदान गरिनेछ।

नयाँ पुस्तामा खेलप्रतिको उत्साह बढाउन तथा स्थानीय प्रतिभाको मूल्यांकनलाई बलियो बनाउँदै आगामी वर्षहरूमा पनि गोल्डकपलाई निरन्तरता दिने प्रतिबद्धता गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले व्यक्त गरे।

सम्पूर्ण प्रतियोगिता सम्पन्न गर्न रु २५ लाख बराबरको लागत लाग्ने आयोजकले जनाएको छ।

प्रतियोगिताको खेल तालिका

१५ सहलश F.C vs बेलबारी F.C

१६ आयोजक GYS vs लिनेण्ड F.A

१७ जलथल F.C vs गाईघाट युनाइटेड

१८ राष्ट्रिय जागृती F.C vs दमक F.A

१९ पहिलो सेमिफाइनल

२० दोस्रो सेमिफाइनल

२१ विश्राम (Rest Day)

२२ फाइनल तथा समापन समारोह