सुनसरी। नेपाल खेलकुद महासङ्घ सुनसरीले जिल्लाभरि रहेका सहरदेखि ग्रामीण बस्तीका बालबालिकाको खेलकुद प्रतिभा विकास तथा प्रोत्साहन गर्ने उद्देश्यले ‘बालबालिकासँग खेलकुद’ कार्यक्रम सुरु गरेको छ। बालबालिकामा खेलप्रति उत्पन्न हुने रुचिलाई प्राविधिक सहयोग, सामग्री तथा नियमित गतिविधिबाट सक्षम बनाउने लक्ष्यका साथ कार्यक्रम प्रारम्भ गरिएको महासङ्घले जनाएको छ।महासङ्घ सुनसरीका अध्यक्ष विकल पौडेलले बालबालिकाको उमेरअनुसार खेलका अवसर विस्तार गर्न महासङ्घ प्रतिबद्ध रहेको बताउनुभयो।
“सुनसरीका १२ वटै स्थानीय तहमा पुगेर, विशेषगरी गाउँ–बस्तीका बालबालिकासम्म खेल अवसर पुर्याउँछौँ। खेलले बालबालिकाको अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्छ,” अध्यक्ष पौडेलले भन्नुभयो।

त्यस्तै, महासङ्घ सुनसरीका सचिव सरोज बस्नेतले कार्यक्रम दीर्घकालीन हुने उल्लेख गर्दै स्थानीय विद्यालय, क्लब र समुदायसँग मिलेर नियमित गतिविधि सञ्चालन गरिने बताउनुभयो।
“हामीले समग्र सुनसरीका बालबालिकाको खेलकुद पहुँच बढाउने रणनीति बनाएका छौँ। प्रत्येक क्षेत्रमा कार्यक्रम विस्तार गर्दै, आवश्यक परे प्रशिक्षक तथा प्राविधिक सहयोग पनि पुर्याइनेछ,” बस्नेतले बताउनुभयो।

कार्यक्रमको सुरुआतमा नेपाल खेलकुद महासङ्घ इटहरी उपमहानगर कमिटीको समन्वयमा इटहरी उपमहानगरपालिका–४ रचना फिल्डका बालबालिकालाई विभिन्न खेल सामग्रीहरू हस्तान्तरण गरिएको छ। सामग्री हस्तान्तरणसँगै बालबालिकालाई प्रशिक्षण, नियमित अभ्यास, प्रेरणा तथा स्थानीय स्तरमा प्रतियोगिता आयोजना गर्ने योजना पनि अगाडि बढाइने महासंघ इटहरी अध्यक्ष खगेन्द्र कटवालले बताउनुभयो ।
“कचना युवा क्लबले बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्न नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ,” कोषाध्यक्ष सुरज श्रेष्ठले भन्नुभयो। “स्थानीय स्तरमा स्रोत–साधन सीमित भए पनि खेलकुद महासंघले गरेको सानो सहकार्यले यहाँका बबालबालिकाको आत्मविश्वास, सीप र प्रतिभा विकासमा निकै ठूलो प्रेरणा दिएको छ,” उहाँले थप भन्नुभयो। “यस्ता साझेदारीले ग्रामीण क्षेत्रका बालबालिकालाई अवसर र पहिचान दिलाउन मद्दत गर्छ भन्ने हाम्रो विश्वास छ।”
नेपाल खेलकुद महासङ्घले निकट भविष्यमा एथलेटिक्स, फुटबल, टेबलटेनिस, भलिबल, तेक्वान्दो लगायतका खेलहरूमा प्रशिक्षण, सामग्री वितरण तथा प्रतियोगिता आयोजना गर्दै बालप्रतिभा पहिचान र विकासलाई प्राथमिकता दिने जनाएको छ।

