इटहरी | बालबालिकाभित्र लुकेको प्रतिभा उजागर गर्दै उनीहरूलाई भविष्यका उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करणको फाइनल अडिसन उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। ओपन स्पेस प्रा.लि.को आयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो तथा अन्तिम अडिसन शनिबार इटहरीमा सम्पन्न भएसँगै फाइनल चरणको तयारी औपचारिक रूपमा सुरु भएको आयोजकले जनाएको छ।

शनिबार इटहरीस्थित फुडशाला क्याफेमा आयोजित अडिसनमा ३० जना बालबालिकाले उत्साहजनक सहभागिता जनाएका थिए। सहभागीहरूको प्रतिभा, आत्मविश्वास र प्रस्तुतीकरणलाई मूल्याङ्कन गर्न नृत्य कोरियोग्राफर मनिष गिरी, मिसेस पूर्वेली आइकन सिजन–२ (अर्गनाइजर च्वाइस) रेनेशा चौधरी र मिस एसईई इटहरी २०२४ (अर्गनाइजर च्वाइस) प्रियंका थापा निर्णायक मण्डलमा रहेका थिए।

प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’ बालबालिकालाई मनोरञ्जन क्षेत्रमा प्रवेश गराउने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ। 

निर्देशक श्रेष्ठका अनुसार बालबालिकालाई केवल उपाधि मात्र दिइरहेका छैनौँ, उनीहरूको भविष्यको बाटो पनि पहिल्याउँदै जाने बताउनुभयो । गत वर्ष सम्पन्न पहिलो संस्करणका सहभागी अवि भट्टराईले चर्चित अभिनेता सौगात मल्लको बाल्यकालको भूमिका निभाउँदै फिल्म ‘बलिदान’ मा अभिनय गर्ने अवसर पाउनु यस प्रतियोगिताको प्रभावशाली उपलब्धिको उदाहरण भएको निर्देशक श्रेष्ठले जानकारी दिए ।