इटहरी ।  बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थित आकर्षक प्राकृतिक भूदृश्यका कारण दैनिक रूपमा हजारौँ पर्यटकको गन्तव्य बनेको छ । अमाह सिमसारका अध्यक्ष भोजराज घलेका अनुसार सिमसारको मौलिक वातावरण, खुला क्षेत्रमा फैलिएको हरियाली र सिमसारभित्र बनाइएका चार ठूलाठूला पोखरी मुख्य आकर्षण हुन् । पहिला पोखरी जीर्ण अवस्थामा थिए तर सङ्घीय र प्रदेश सरकारको सहयोगमा जीर्णोद्धार गरिएपछि पोखरीमा अहिले विभिन्न प्रजातिका माछा हालिएको छ, अवलोकनका लागि पनि धेरै पर्यटक आउने गरेका छन् । सिमसार क्षेत्रभित्र अमाह देवीथान मन्दिर पनि छ, जुन धार्मिक पर्यटकको प्रमुख गन्तव्य रहेको अध्यक्ष घले बताउनुहुन्छ ।

जहाँ उधौली–उभौलीका बेला विशेष पूजा गरिन्छ । यहाँ पूजा गर्दा हराएको सामान फेलापर्ने जनविश्वासका कारण पनि यहाँ दैनिक रूपमा भक्तजन आउने गरेका अध्यक्ष घलेले बताउनुभयो । सिमसार क्षेत्रमा दैनिक दुई हजारदेखि दुई हजार ५०० जति पर्यटक आउने गरेका छन् भने शनिबार तथा सार्वजनिक बिदाका दिन करिब १० हजारसम्म पर्यटक आउने गरेका उहाँको भनाइ छ । धेरैजसो पर्यटक असोजदेखि माघ, फागुनमा अत्यधिक वृद्धि हुने गरेको अधयक्ष घलेले बताउनुभयो । सिमसार सामुदायिक वन नजिकै भएकाले साँझपछि हात्ती देखापर्ने सम्भावना रहने भएकाले सुरक्षाका हिसाबले ५ः३० पछिको समय व्यवस्थापन गरेर पर्यटकलाई आफ्नो गन्तव्यतर्फ पठाइने गरिएको अध्यक्ष घलेले जानकारी दिनुभयो ।

अमाह सिमसारभित्र हरिण, बँदेल, अजिङ्गर, बाँदर, दुम्सी, चिललगायतका विभिन्न वन्यजन्तु पाइने भएकाले जैविक विविधता अवलोकन गर्न चाहने पर्यटक पनि यहाँ आउने गरेका छन् । यही चहलपहलका कारण स्थानीय आधा दर्जनभन्दा बढी व्यापारी सिमसार क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । प्रदेश सरकारले २०७८÷७९ मा रु २० लाख र २०७६र७७ मा रु १० लाख बजेट विनियोजन गरिदिएकाले सिमसारको कम्पाउण्ड, गेट तथा भित्र चिल्ड्रेन पार्क निर्माण गरिएको अध्यक्ष घलेले बताउनुभयो । पोखरीको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र सिमसारको थप प्रवर्द्धनका लागि प्रत्येक वर्ष प्रदेश र सङ्घीय सरकारबाट सहयोग हुँदै आएको उहाँले बताउनुभयो ।