इटहरी । चार करोड रुपियाँ पेस्की लिएर ठेकेदार फरार भएपछि विराटनगर महानगरपालिकाको चार वटा वडालाई जोड्ने सडक छ वर्षदेखि अलपत्र छ । विराटनगर महानगरपालिका अन्तर्गत कोशी राजमार्ग पश्चिमको विकल्पका रूपमा विराटनगर–५, ६, ११ र १२ नम्बर वडालाई जोड्ने सडक शिलान्यास भएको छ वर्ष र निर्माण सम्पन्न हुनुपर्ने म्याद सकिएको तीन वर्ष बितिसक्दा समेत बन्न सकेको छैन । प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय मोरङसँग जनकपुरस्थित देव एन्ड सायर आइएसएनबी जेभीले २०७७ असार ४ गते निर्माण सम्झौता गरेको थियो । विराटनगर महानगरपालिका ५, ६, ११ र १२ नम्बर वडालाई जोड्दै सीमा क्षेत्र रानीसम्म ९।३८ किलोमिटर सडकको शिलान्यास २०७७ साल मङ्सिरमा गरिएको थियो । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला, तत्कालीन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र कोशी प्रदेश सभा सदस्य तथा पूर्वमुख्यमन्त्री केदार कार्कीले महìवका साथ गर्नुभएको थियो ।

पूर्वाधार विकास कार्यालय मोरङको २९ करोड ६३ लाख नौ हजार ५६६ रुपियाँ लागतमा सडक जनकपुरस्थित देव एन्ड सायर आइएसएनबी जेभीले निर्माण गर्ने गरी सम्झौता भएको थियो । सम्झौता अनुसार २०७९ असार ३ गते यसको काम सकिनुपर्ने म्याद थियो । निर्माण म्याद गुज्रेको अहिले तीन वर्ष बितिसकेको छ । निर्माण कम्पनी देव एन्ड सायर आइएनएनबी जेभीका सन्तोष यादवले चार करोड पेस्की लिएर सम्कर्पविहीन बनेपछि पूर्वाधार विकास कार्यालयले यसबेला खोजी थालेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख षडानन्द कुसवाहका अनुसार अहिले स्थानीयले यस विषयमा अख्तियारको समेत ध्यानाकर्षण गराएका छन् । त्यसपछि पेस्की बुझेर फरार भएका यादवको खोजी गर्दा फेला पार्न नसकिएको उहाँले बताउनुभयो । हामीले सम्बन्धित निर्माण व्यवसायीसँग सम्पर्क गर्न सकेनौँ । त्यसपछि अर्का पार्टनर निर्माण व्यवसायीसँग कुरा गरेर बोलाएका छौँ । 

कार्यालय प्रमुख कुसवाहले जिल्ला प्रशासन कार्यालय मोरङले समेत जिल्ला प्रशासन कार्यालय धनुषामार्फत झिकाउन पत्राचार गरिसकेको जानकारी दिनुभयो । निर्माणमा संयुक्त भएका दुई कम्पनीमध्ये एउटा भागेमा अर्कोले काम गर्नुपर्ने हुन्छ । स्थानीयले यस विषयलाई चासो दिँदै अख्तियार र स्थानीय प्रशासनसहित ठेक्का लगाउने कार्यालय समेतको ध्यानाकर्षण गराएका छन् । विराटनगर महानगरपालिकाको पश्चिम क्षेत्र विकासमा ओझेल परेको भन्दै वडा नम्बर ५, ६, ११ र १२ को झङडाही ९उराँव टोल० कारखाना टोल हुँदै ब्रम्हपुरासम्मको यो सडक निर्माण गर्ने योजना सारिएको थियो । सम्झौता २०७७ असारमा गरेर मङ्सिरमा शिलान्यास गरिएको सडक निर्माणका लागि छ करोड रुपियाँ विनियोजन गरिएको थियो ।

विनियोजनमध्ये चार करोड रुपियाँ पेस्की बुझेर ठेकेदारबेपत्ता भएका हुन् ।  विराटनगर–४ का उत्तम दाहालका अनुसार अहिले राज्यका निकायलाई गुहार मागेपछि निर्माणको सुरुवात गर्ने आश्वासन आएको छ । दाहालसहित त्यस क्षेत्रका स्थानीयले यो सडक निर्माणसम्बन्धी आवाज उठाउनुभएको थियो । केन्द्र भागमा सात मिटर चौडाइ स्पाल्ट कालोपत्रे गर्ने योजनामा उल्लेख छ । त्यसपछि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर सडकका रूपमा स्तरोन्नति गर्ने काम सुरु गरिएको थियो । अहिले नहरको धेरै क्षेत्र कालोपत्रे भइसकेको छ ।