इटहरी । मोरङको विराटनगरमा आइतबार नेकपा एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन्। एयरपोर्ट लाइनको बाटोमा सडक किनाराबाट दौडिँदै आएको एक युवकले बस्नेत सवार गाडीमा रातो रङ फ्याँकेपछि गाडी केही क्षण रोकिएको थियो। प्रहरीले घटनापछि विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ । प्रहरी भ्यानमा लगिँदै गर्दा पनि कुँवरले बस्नेतविरुद्ध नारा लगाइरहेको भिडियो सार्वजनिक भएको छ। उनले एमाले र बस्नेतमाथि सांकेतिक विरोध जनाउने उद्देश्यले रङ छ्यापेको बयान दिइएको छ। बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन विराटनगरबाट सुनसरीतर्फ जाँदै थिए। केही दिनअघि बस्नेत सिमरा जाँदै गर्दा पनि अवरोध झेल्नुपरेको थियो ।