इटहरी । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान भएपछि स्थानीयवासी सहज भएका छन् । गाउँपालिका र वडाको पहलमा पिउने पानीको समस्या झेल्दै आएका ३० घर परिवारमा घरघरमा धारा जडान गरिएको हो । यहाँ पिउने पानीको समस्या रहेको चाँपे गाउँमा ‘एक घर, एक धारा’ जडान गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । पानीको चरम समस्या रहेका स्थानीयलाई लक्षित गरेर पानी वितरण गरिएको उहाँको भनाइ छ । यहाँ गाउँपालिकाबाट रु चार लाख ५० बजेट विनियोजन गरेर स्थानीयलाई पानी वितरण गरिएको पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो ।
गाउँपालिकामा ठूला–साना विभिन्न खानेपानी योजना सञ्चालन गरेर ‘एक घर एक धारा’ पु¥याउने लक्ष्यका साथ काम गरिरहेको उपाध्यक्ष राईको भनाइ छ । ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर प्रत्येक घरमा शुद्ध पिउने पानी पु¥याइएपछि स्थानीयवासी खुसी भएका छन् । घरमा धारा जडान भएपछि वर्षौँदेखिको पानीको समस्या अन्त्य भएको स्थानीयवासी तारा तामाङले बताउनुभयो । अब भने पानीको जोह गर्नको लागि घण्टौ समय बिताउनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । घरमा धारा नहुँदा घण्टौँ परबाट डोकोमा बोकेर ल्याएर पानीको जोह गर्दै आएको अर्की स्थानीयवासी सङ्गीता राईले बताउनुभयो । घरको आगनमा धारा जडानले सरसफाइसँगै खेर गएको पानी करेसावारी प्रयोग गर्दै आएको उहाँको भनाइ छ ।

