इटहरी ।   पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको छ । खेतीयोग्य उर्वरभूमि हुँदाहुँदै सिँचाइ अभावमा जमिन बाँझो बन्दै गएको अवस्थामा पोखरी निर्माणले २१ घरपरिवारलाई एकसाथ सिँचाइ गर्न सहयोग पुगेको छ । पोखरी निर्माण भएपछि चाँपे टोलका स्थानीयले एकसाथ सिँचाइ गर्न सक्ने अवस्था बनेको निर्माण उपभोक्ता समितिका अध्यक्ष शुभराज राईले बताउनुभयो । पोखरी निर्माण भएपछि यहाँको सिँचाइ समस्या अन्त्य भएको उहाँको भनाइ छ । यहाँ प्रदेश सरकारको क्रमागत रूपमा प्राप्त रु ३० लाख बजेटबाट तीनवटा पोखरी निर्माण गरिएको पौवादुङमा–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

वडाको पहलमा प्रदेशसँग बजेट माग गरेर पोखरी निर्माण गर्न सफल भएको उहाँको भनाइ छ । सडकको राम्रो पहँुच रहेकाले सिँचाइ पोखरी निर्माणले स्थानीयलाई नगदेबाली खेतीका लागि सहयोग पुगेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । सिँचाइ विस्तार भएपछि यहाँका किसानले कृषिकर्म गरेर आयआर्जनमा जोडिने अवस्था बनेको उहाँको भनाइ छ । गाउँपालिकाभित्र रहेको कृषियोग्य क्षेत्रमा सिँचाइ सुविधा विस्तारमा जोड दिएको उपाध्यक्ष राईले बताउनुभयो । पोखरी निर्माणले स्थानीयलाई तरकारीखेती गर्नका लागि सहजता भएको स्थानीयवासी भरतबहादुर कार्कीले बताउनुभयो ।