इटहरी। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगजनीबाट ध्वस्त भएको कोशी प्रदेशसभा भवन परिसरको मङ्गलबार निरीक्षण गर्नुभएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदेशसभा भवनमा आगजनी गरिएको थियो । निरीक्षणका क्रममा सभामुख घिमिरेले कोशी प्रदेशसभामा भएको क्षति अपूरणीय भएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले प्रदेशसभा भवनको पुनर्निर्माण तथा सुरक्षामा विशेष ध्यान दिइनुपर्ने बताउनुभयो । जेनजी आन्दोलनको नाममा कोशी प्रदेशसभामा ठुलो क्षति भएको र सचिवालयको मुख्य भवनलगायत महत्त्वपूर्ण दस्तावेजहरु सबै नष्ट भएको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सभामुख घिमिरेलाई जानकारी गराउनुभयो । सचिवालयको तर्फबाट तत्काल पुननिर्माण हुने सम्भावना नभएकै कारण हाल प्रदेशसभा सचिवालय कटहरी गाउँपालिकाको तरकारी बजारमा सारिएको जानकारी गराइएको थियो । सभामुख घिमिरेले नयाँ सारिएको प्रदेशसभास्थलको पनि अनुगमन निरीक्षण गर्नुभयो । यसैबिच सभामुख घिमिरेले संविधानतः संसद विघटन गर्ने र संसद बाहिरबाट प्रधानमन्त्री बनाउने ठाउँ नरहेको दोहोर्याउनुभयो । उहाँले वर्तमान राजनीतिक घटनाक्रम न्यायालयमा पुगेको उल्लेख गर्दै त्यहाँबाट सही निरूपण हुने र संसद पुनस्र्थापना हुने विश्वास व्यक्त गर्नुभयो । संसद पुनस्र्थापनाको विषयमा सभामुखले पनि नेकपा एमालेकै भाषा बोलिरहेको भनि आलोचना हुने गरेको भन्दै सोधिएको प्रश्नको जवाफमा उहाँले सत्य कुरा बोल्दा कसैसँग मिल्न गएमा आपत्ति मान्न नहुने बताउनुभयो ।