इटहरी | इटहरी स्थित ब्रहमपुर सामुदायिक वन उपभोक्ता समूहले गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत ९ घर परिवारलाई खाट तथा फाइबर सिरक वितरण गरेको छ । चिसो मौसमका कारण अत्यन्त प्रभावित गरिब परिवारलाई समूहले पहिलो चरणमा न्यानो बनाउन खाट तथा फाइबर सिरक वितरण गरेको हो । समूहका अध्यक्ष मनोज तामाङले गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत ९ परिवारलाई एक थान सिरक र खाट प्रदान गरिएको बताए । यस्तै एक अत्यन्त गरिब परिवारलाई २५ केजीको चामल समेत हस्तान्तरण गरिएको छ । पहिलो चरणमा ७० हजार रुपैयाँ बढी मूल्यको सामान वितरण गरिएको अध्यक्ष तामाङले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि इटहरी वडा नं. १९ का वडाध्यक्ष श्रीनारायण चौधरीले वन समूहले चिसो प्रभावित गरिब परिवारलाई न्यानो बनाउने कार्य पुण्यको काम भएको प्रतिक्रिया दिए ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष चौधरी, समूहका अध्यक्ष तामाङ लगायतका अतिथिहरूले सिरक र खाट प्रभावित परिवारलाई हस्तान्तरण गरेका थिए ।
समूहले यस अघि जेनजी आन्दोलनमा इलाका प्रहरी कार्यालय इटहरी आगजनी हुँदा तरहरा प्रहरी चौकीलाई समेत २ वटा खाट वितरण गरिसकेको छ ।

