सुनसरी । महिनौँसम्म मेहनत, पसिना र जोखिमपूर्ण वातावरणमा काम गर्दा पनि पारिश्रमिक नपाएपछि पशुपति आइरन एण्ड स्टिल कम्पनीका मजदुरहरू आक्रोशित बनेका छन्। कम्पनीले निरन्तर उत्पादन गरिरहँदा आफूहरूले पाउनुपर्ने ज्याला रोकेपछि करिब ९० जनाभन्दा बढी नेपाली तथा भारतीय मजदुरहरूले फ्याक्ट्री गेटअगाडि धर्ना तथा विरोध प्रदर्शन गरेका छन्।
मजदुरहरूको भनाइअनुसार, तातो आगो र १७०० भन्दा माथि टेम्प्रेचरमा १८ घण्टासम्म खटेर काम गर्दा हात–खुट्टा डढ्ने, स्वास्थ्यमा समस्या पर्नेजस्ता जोखिम थेगिरहे पनि पाउने ज्याला महिनौँदेखि रोकिएको छ। “हामीले दिन रात केही नसोची काम गर्यौँ, तर महिनौँदेखि ज्याला नपाउँदा परिवार चलाउनै नसकिने अवस्था आएको छ,” एक मजदुरले पीडा सुनाए।
मजदुरहरूको भनाइअनुसार, तिनले न केवल ज्याला पाएका छैनन्, कम्पनीले उनीहरूको बसोबास र खानेपानीको अवस्था झनै खराब बनाएको छ। पहिले बस्दै आएको सुरक्षित ठाउँबाट हटाएर दुषित पानी पर्ने स्थानमा बस्न बाध्य पारिएको र पिउने पानी समेत दूषित र स्वास्थ्य जोखिमयुक्त रहेको मजदुरहरूको आरोप छ। “साफ पानी पिउन पाउनै छाड्यौं, बस्ने ठाउँ समेत फोहोर, दुर्गन्ध र संक्रमित पानीको छेउमा राखिदिए,” मजदुरहरूले दुखेसो पोखे।
यति मात्र होइन, आफ्नो मेहनतको मूल्य माग्दा उल्टै कम्पनीले प्रहरी प्रशासनलाई प्रयोग गरी ‘पक्राउने, थुनाउने, हप्काउने’ काम गरेको मजदुरहरूले आरोप लगाएका छन्। उनीहरूका अनुसार आवाज उठाउने मजदुरलाई पहिचान गरी धम्की समेत दिइने गरेको छ।
नेपालका विभिन्न जिल्लाबाट आएका कामदारदेखि लिएर भारतका मजदुरसम्म सबैले एउटै समस्या झेलिरहेका छन्—महिनौँसम्मको बक्यौता ज्याला। कतिपय मजदुरले आफ्नो घरमा बालबच्चाको स्कुल शुल्क तिर्न नसकिएको, घरभाडा धान्न समस्या भएको र खानासम्म अभाव भएको गुनासो गरिरहेका छन्।
कम्पनी प्रशासन मौन
मजदुरले उठाएको गम्भीर समस्याको विषयमा पशुपति आइरन एण्ड स्टिल कम्पनी प्रशासनले भने कुनै प्रतिक्रिया दिन चाहेन। बारम्बारको प्रयासपछि पनि जिम्मेवार व्यक्तिहरूले मजदुरको ज्याला रोकिएकोबारे बोल्न अस्वीकार गरेका छन्।
मजदुरहरूको आक्रोश बढ्दै गएपछि स्थानीय सरोकारवालाले पनि यसप्रति चासो जनाउन थालेका छन्। श्रम अधिकार, सामाजिक सुरक्षा तथा औद्योगिक नियमनका विषयमा बारम्बार प्रश्न उठिरहँदा उद्योगले महिनौँसम्म मजदुरको मेहनतको मूल्य नदिई मौन बस्नु ठूलो बेमेल भएको स्थानीयवासीले टिप्पणि गरेका छन्।
मजदुरहरूले तत्काल बक्यौता पारिश्रमिक उपलब्ध गराउन र सुरक्षित, मर्यादित कार्यस्थल सुनिश्चित गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने समेत बताएका छन्।

