इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ को चावाचा क्षेत्रमा रहेको ऐतिहासिक भग्नावशेष संरक्षणविहीन बनेको छ । वराहक्षेत्र–१ को जलकन्या सामुदायिक वन क्षेत्रमा रहेको दरबारको भग्नावशेषको संरक्षणमा चासो नपुग्दा ऐतिहासिक, पुरातात्विक भगवानवशेष संरक्षणविहीन बनेको हो । चतराधाम क्षेत्रबाट एक किलोमिटर उत्तर उकालो हिँडेपछि पुगिने हिन्दुपति दरबारको भग्नावशेष क्षेत्रबाट पुरातात्विक वस्तु हराउँदै गएको बताइन्छ । स्थानीयले देख्दै आएका हात्ती बाँध्ने फलामको साङ्लो, पत्थरको ओख्ली, फलामका हातहतियार बनाउन प्रयोग गरिने सामान, पुराना तामाको पैसा, तोपका गोला र साना तोप, रातो र कलेजी रङको प्वाँलोको माला, शिवको मूर्ति भग्नावशेष क्षेत्रबाट हराइसकेको स्थानीय युवराज भट्टराईले बताउनुभयो । जलकन्या सामुदायिक वन क्षेत्रमा रहेका ढुङ्गा, इँटा, टायल (झिँगटी) ले बनाइएको भवनको पर्खाल र इँटा, टायल, शिक्षा पाटी, तारो हान्ने ढुङ्गालगायतका भग्नावशेष हिन्दुपति राजाको दरबार भएको स्थानीय बताउँछन् ।
यो दरबार कहिले र कसको शासनकालमा बनेको भन्ने कहीँ कतै उल्लेख नभए पनि स्थानीय बूढापाकाको भनाइ अनुसार हिन्दुपति राजा र उनकी रानी दोशयन्तीको दरबार भएको भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार हिन्दुपति राजाको दरबार भए पनि कुन शासनकालमा बनेको हो भन्ने उल्लेख कतै गरेको पाइँदैन । स्थानीयको बोलिचालीको भाषामा रानी खोला भनेर चिनिने भग्नावशेषनजिक रहेको खहरेखोला, चावाचा डाँडामै रहेको ‘लालकोट’ को भग्नावशेषले सेनवंशी राज्यको दरबार रहेको इङ्गित गर्ने बताइन्छ । जङ्गलभित्र ठुलो क्षेत्रफलमा फैलिएको भग्नावशेष क्षेत्र हिन्दुपति दरबारको नामले परिचित रहेको छ । जङ्गलभित्र बगैँचासमेत देख्न सकिन्छ । तत्कालीन राजाले राज्य छोडेपछि बनाइएका संरचनाको संरक्षण नभएपछि उक्त क्षेत्र जङ्गलमा परिणत भएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार केही वर्षअघि त्यहाँ पाँच फुट अग्ला पर्खाल देख्न सकिन्थ्यो ।
अहिले ती पर्खाल रहेको केही चिनोसम्म देख्न सकिन्छ । धेरै भग्नावशेष क्षेत्रका संरचना चोरी भइसकेको स्थानीयको भनाइ छ । पछिल्लो समय हिन्दुपति दरबार क्षेत्र अध्ययन अवलोकनका लागि मानिस पुग्ने गरेको स्थानीय भीषण राई बताउनुहुन्छ । विशेष गरी शनिशार भग्नावशेष क्षेत्र अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उहाँको भनाइ छ । चतराको मदन भण्डारी राजमार्गस्थित छिन्नमस्ता मन्दिरदेखि उत्तरतर्फ एक किलोमिटर ठाडो उकालो उक्लिएपछि हिन्दुपति दरबार पुग्न सकिन्छ भने अर्को बाटो चतराकै मिलन चोकबाट फूलबारी गाउँ हुँदै करिब चार सय मिटर ओरालो झरेपछि पुग्न सकिन्छ । हिन्दुपति दरबार पुग्न सहजताका लागि वराहक्षेत्र–१, वडा कार्यालयले दिशानिर्देश बोर्ड राखेको छ । करिब दुई सय बिघा क्षेत्रफलमा फैलिएको दरबार क्षेत्रमा रहेका भग्नावशेषको संरक्षण नहुँदा धेरै भग्नावशेष हराइसकेका छन् । भने बाँकी रहेका भग्नावशेष पनि बेवारिसे अवस्थामा छन् । सरकारले ऐतिहासिक तथा पुराताìिवक क्षेत्रको सिमाङ्कन गरी गुरुयोजना बनाएर संरक्षण गर्नुपर्ने आवश्यकता रहेको भीषण राईले बताउनुभयो ।

