इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित शिवरात्री टोलमा सोमबार बिहान विद्युत् सर्ट भई आगलागी हुँदा एक घरमा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहान करिब ४ बजे स्थानीय शिवकुमार तुम्बाको टिनको छानो तथा काठपातले बनेको दुईतले घरमा अचानक आगलागी हुँदा  घरको माथिल्लो तल्ला जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त घरमा डेरा गरी बस्दै आएकी सङ्खुवासभाको पाँचखपन नगरपालिका–७ घर भएकी मिना चापागाईको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, एक थान ल्यापटप, एक थान एलसीडी टेलिभिजन र एक थान मोबाइल जलेर करिब एक लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

यस्तै घरधनी तुम्बाको घरका काठपात, खाद्यान्न (धान र मकै) तथा लत्ताकपडा जलेर करिब दुई लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीबाट जम्मा चार लाख २२ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको  छ ।

प्रहरी  चौकी लेगुवाबाट प्रहरी सहायक निरीक्षक गोविन्द दासको कमाण्डमा खटिएको प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक दासले बताउनुभयो ।