इटहरी । ११औँ उद्योग दिवसको अवसरमा विराटनगरका उद्यमीहरूले विशेष प्रभातफेरी कार्यक्रम सम्पन्न गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको तोदी भवन कार्यालयदेखि कञ्चनजङ्गा ब्याङ्क्वेटसम्म गरिएको पदयात्राले उद्योग दिवसको उत्साहलाई झनै जीवन्त बनाएको हो । कार्यक्रमको महिला तथा पुरुष दुवैतर्फका उत्कृष्ट उद्यमी सम्मानित हुनुभएको छ । महिला तर्फबाट केराबारी दालमोट भुजियाकी सञ्चालिका भीमकुमारी राई सम्मानित हुनुभएको छ भने पुरुषतर्फ ओजस्वी एग्रिकल्चर फार्म प्राइभेट लिमिटेडका सञ्चालक ओमकार थापा सम्मानित हुनुभएको हो । स्थानीय उत्पादनलाई बजारमा प्रभावकारी रूपमा स्थापित गर्न राईको निरन्तर योगदान छ । त्यसैगरी कृषि उद्यमलाई आधुनिक प्रविधि, व्यवसायिकता र युवा सहभागितासँग जोड्न विशेष भूमिका रहेकोमा थापालाई पनि उच्च सम्मान प्रदान गरिएको हो । सम्मान तथा शुभकामना आदानप्रदानसहित सम्पन्न कार्यक्रममा सहभागी उद्यमीहरूले उद्योग विकास, स्थानीय उत्पादन प्रवर्धन तथा उद्यमशीलता विस्तारमा भविष्यमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।