इटहरी | नेपालमा बोलीचालीमा लेप्चा भनिए पनि सही उच्चारण लाप्चा हो। लोपोन्मुख जातिहरूको सूचीमा परेका लाप्चा समुदायका व्यक्तिहरूको संख्या २०७८ को जनगणनाअनुसार जम्मा ३ हजार ५७८ मात्र छ। यति थोरै जनसंख्या भए पनि समुदायभित्र ३७ वटा भिन्न जाति–उपसमुदाय रहेको तथ्य आफैँमा निकै रोचक छ।

यस्तै दुर्लभ तथ्य र लाप्चा समुदायसम्बन्धी विस्तृत जानकारी समेटिएको पुस्तक ‘द लाप्चा (The Disappearing People of East Nepal)’ हालै सार्वजनिक भएको छ। पुस्तकका लेखक इटहरीका समाजशास्त्र तथा मानवशास्त्रका उपप्राध्यापक अर्जुन उप्रेती हुन्। उनले पुस्तक तयार पार्न चार वर्षभन्दा बढी समय खर्चेका हुन्। यसअघि उप्रेतीले जसकुमार राईसँग सहकार्यमा ‘नेपालमा सुरुङयुद्ध’ पुस्तक लेखिसकेका छन्।

नवप्रकाशित पुस्तकले लाप्चा समुदायको भाषा, जन्म–मृत्यु–विवाह संस्कार, लोकरीति–परम्परा, धार्मिक विश्वास, सामाजिक–सांस्कृतिक मूल्य, साथै उनीहरूले प्रयोग गर्ने विभिन्न सामग्रीहरूको सचित्र विवरण प्रस्तुत गर्दछ।

नेपालका सीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजातिमध्ये पर्ने लाप्चा समुदायको प्रमुख वासस्थान इलामको पूर्वी–दक्षिण क्षेत्रमा पर्ने गाउँपालिका/नगरपालिका क्षेत्र तथा झापाको बुद्धशान्ति गाउँपालिका हो। कञ्चनजंघा हिमालको फेदीबाट उत्पत्ति भएर दक्षिण–पूर्वतर्फ सर्दै आएका लाप्चाहरू अहिले सिक्किमको नाम्चीदेखि इलामसम्म फैलिएका छन्।

इतिहासअनुसार, इलाममा बसोबास गर्ने लाप्चा जातिहरूले गोर्खाली फौजलाई नेपाल एकीकरणका समयमा सहयोग गरेको तथ्य पाइन्छ। १८५६ देखिनै उनीहरूले ‘लालमोहर’ का आधारमा इलामको सूर्योदय क्षेत्रमा बसोबास गर्दै आएका छन्। १८९५ मा अगुवा लाप्चालाई काजी सुब्बा पदसम्म प्रदान गरिएको उल्लेख छ।

लाप्चा समुदाय हिंसा–विरोधी मानिन्छ। अन्तिम लाप्चा राजा सिगम (पुनु) ले कोच समुदायसँग युद्धविराम गर्दै द्वन्द्वरहित जीवनको प्रतिज्ञा गरेपछि समुदाय निरन्तर शान्तिप्रिय बन्न पुगेको मानिन्छ।

लाप्चा समुदायका धेरै परम्परा अन्य जातिबाट पृथक् र आकर्षक छन्। समुदायमा महिलाको स्थान उच्च मानिन्छ। घरपरिवारमा मातृसत्तात्मक अभ्यास प्रचलित भए पनि व्यापक नेपाली समाज पितृसत्तात्मक भएकाले औपचारिक रूपमा भने पुरुष नेतृत्व देखिन्छ।

विवाह संस्कारमा चाहिँ रोचक प्रचलन छ–विवाह गर्न चाहने युवकले एक वर्षका लागि दुलहीको घरमै बसेर परीक्षा दिनुपर्छ।

त्यस अवधिमा दुलहीका परिवारले उनको व्यवहार, क्षमता र जिम्मेवारी निर्वाह गर्न सक्ने योग्यता नजिकबाट अवलोकन गर्छन्। समुदायको नेतृत्व बुङथिङ (पुजारी) र याबा (शमन) ले सञ्चालन गर्छन्।

नेपालमा लोपोन्मुख धेरै जातिहरुमध्ये लाप्चाको बारेमा यस्ता धेरै कुरा जान्नलाई यो पुस्तकले सहयोग गर्छ । पुस्तक अंग्रेजी भाषामा छ । मञ्जरी प्रकाशनद्वारा प्रकाशित पुस्तक एक सय ३० पृष्ठको छ । पुस्तकको मूल्य तीन सय रुपैयाँ रहेको छ ।