इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित दुर्गम तथा विकट गाउँका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको दुर्गम तथा विकट गाउँ अम्जिलेसा, ग्याब्ला, फले र घुन्साका लाभग्राहीलाई घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। गाउँपालिकाका पदाधिकारीसहितका जनप्रतिनिधि र वडासचिवको टोलीले घरघरै पुगेर अशक्त ९अपाङ्ग०, एकल महिला र ज्येष्ठ नागरिक लगायतका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गरेको हो। दुर्गम तथा विकट गाउँका लाभग्राहीको सहजताका लागि घर टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्ति० ले बताउनुभयो। अध्यक्ष लिम्बूका अनुसार बैँकसँग समन्वय गरी लाभग्राहीको घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। स्थानीय सरकार जनतासँग प्रत्यक्ष अर्थात नजिक रहेको अनुभूति गराउन साथ दुर्गम क्षेत्रका लाभग्राहीलाई सेवा सुविधा प्राप्त गर्नलाई सहज होस् भन्न उद्देश्यले उनीहरूको घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो। भौगोलिक विकटतासँगै गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोकदेखि दुर्गममा पर्ने गाउँका लाभग्राहीलाई आइतबारदेखि घरघरमा पुगेर सामाजिक भत्ता रकम वितरण गरिएको गाउँ कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले बताउनुभयो। घरघरमा पुगेर भत्ता रकम वितरण गरेकाले अपाङ्ग तथा ज्येष्ठ नागरिकसहितका लाभग्राहीलाई सहज भएको शेर्पाले बताउनुभयो। उहाँका अनुसार घरघरमै सामाजिक सुरक्षा भत्ता प्राप्त गरेपछि लाभग्राहीले पनि ठुलो राहतका महसुस गरेका छन्। लेलेपको अम्जिलेसा, ग्याब्ला, फले र घुन्सा दुर्गम, भौगोलिक विकटता भएको क्षेत्र साथै हिमाली भेगसमेत पर्दछ। घुन्साको उचाई तीन हजार ४७५ मिटर र फले बस्तीको उचाइ तीन हजार २३२ मिटर रहेको छ। घुन्सा र फलेदेखि गाउँपालिका प्रशासकीय केन्द्र तापेथोक पुग्नलाई सामान्य रूपमा दुई दिन पैदल यात्रा गर्नुपर्ने हुन्छ।

