इटहरी | जेन–जी पुस्ताको आन्दोलनपछि पूर्वमा सबैभन्दा धेरै क्षति व्यहोरेको इटहरीमा प्रहरीले प्रविधिमुखी मोडेलमार्फत अपराधमा संलग्न व्यक्तिहरूको पहिचानलाई तीव्र बनाएको छ।

तोडफोड तथा आगजनीमा संलग्न समूह पहिचान गर्न प्रहरीले सीसीटीभी फुटेज विश्लेषण, डिजिटल लोकेशन ट्रेसिङ तथा सोसल–मिडिया एक्टिभिटी म्यापिङ जस्ता आधुनिक प्रविधि प्रयोग गर्न थालेको छ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा ठूलो मात्रामा भएको क्षतिपछि ‘डाटा–ड्रिभन’ अनुसन्धानमा जोड दिइएको हो। बुधबार मात्र पाँच जनालाई पक्राउ गरी अदालतमा प्रस्तुत गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा इटहरी–३ का ३२ वर्षीय विजय लिम्बू, वडा–६ का ४५ वर्षीय मदन खत्री, वडा–५ का ४५ वर्षीय दिपेन्द्र कार्की, वडा–९ का ३० वर्षीय आबस कार्की र वडा–४ का ३२ वर्षीय सनम कार्की रहेका छन्। उनीहरूलाई आपराधिक उपद्रव मुद्दामा थुनामा राखिएको प्रहरी जनाएको छ।

इटहरीमा प्रहरी संरचना तथा सुरक्षा निकायमा भएको चरम क्षतिपछि प्रहरीले कम्तीमा २० जनालाई शंकास्पद सूचीमा राखेको छ। उनीहरूको संलग्नता भिडियो विश्लेषण र मोबाइल लोकेशनमार्फत जाँच भइरहेको छ।

क्षति भएका संरचनामा इटहरी इलाका प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा कार्यालय, पकलीस्थित प्रहरी चौकी, खनार र हलगडाका चौकी तथा अस्थायी प्रहरी कार्यालयहरू छन्। सबै स्थानमा आगजनी र तोडफोडको प्रकृति संगठित रहेको प्रहरीको दाबी छ।

यसबाहेक विभिन्न राजनीतिक दलका कार्यालय, इटहरीका राजस्व तथा यातायातसम्बन्धी कार्यालय, साथै मन्त्री र मेयरको घरमा भएको आक्रमण पनि एउटै नेटवर्कबाट सञ्चालित भएको प्रारम्भिक अनुमान प्रहरीले निकालेको छ।

भदौ २३ गते इटहरी–१४ का ४० वर्षीय मोहन सरदार र १६ वर्षीय अभिषेक श्रेष्ठको मृत्यु भएपछि आन्दोलनले उग्ररूप लिएको थियो। प्रहरीका अनुसार तोडफोडमा संलग्न धेरैजसो व्यक्ति स्थानीय नभएर बाहिरबाट घुसपैठ गरी अवसरवादी रूपमा सक्रिय भएका समूह हुनसक्ने प्रबल सम्भावना देखिएको छ।

डिजिटल डेटा विश्लेषण तीव्र गतिमा भइरहेको र त्यसका आधारमा ठूलो संख्यामा थप पक्राउ प्रक्रिया सुरु गरिने प्रहरी स्रोतले जनाएको छ।