इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । नदी किनारको मनोरम दृश्य, सूर्यास्तको आकर्षक झल्को तथा ‘क्याम्प फायर’, रिसोर्ट, ‘कफी सप’ र खाजा पसल थपिँदै गएपछि यहाँ दैनिक चहलपहलसमेत बढ्दै गएको छ । व्यवसायी बिकुल श्रेष्ठले केही वर्षअगाडिसम्म सुनसान रहने यो ठाउँमा हाल पर्यटकको चहलपहल बढ्दै गएको बताउनुभयो । उहाँले यही मङ्सिर १ देखि क्याम्प फायरमा सञ्चालनमा ल्याएको र जसमा १० जना कामदार रहेका बताउनुभयो । स्थानीय परिकार, लोकल कुखुराको मासु, सेकुवा, सुकुटी तथा कोशीको ताजा माछा मुख्य रोजाइमा पर्न गरेका श्रेष्ठले बताउनुभयो ।
चार वर्ष विदेश बसेर स्वदेश फर्किनुभएका श्रेष्ठले यसअघि दूध डेरी, सफारी सञ्चालन र ग्यारेज व्यवसाय सञ्चालन गर्नुभएको थियो, हाल सबै छोडेर पर्यटन प्रवर्द्धनका लागि क्याम्प फायर सुरु गरेको बताउनुभयो । बोराबाध’ विशेषगरी सप्तकोशी नदीको वार्षिक कटान रोक्न बोरामा सिमेन्ट भरेर बनाइएको छ । यही बाँधका कारण यस स्थानलाई ‘बोराबाध’ नामले चिनिन थालिएको स्थानीय बताउँछन् । पहिले दुई–तीनवटा रूख मात्र रहेको, गर्मीमा फाटफुट मानिस आउने यस क्षेत्रमा हाल दैनिक धेरै मानिस आउन थालेका छन् । केही समयअघि यहाँ एकवटा चटपटे पसल मात्र थियो, हाल रिसोर्ट, क्याम्प फायर, खाजा पसल र कफी सप गरी आधा दर्जनभन्दा बढी व्यवसाय सञ्चालनमा छन् ।
स्थानीय भीषण राईका अनुसार दिउँसो र बिहानभन्दा सूर्य अस्ताउँदा यहाँ पर्यटकको अत्यधिक भीड लाग्छ । दैनिक दुई हजारदेखि दुई हजार ५०० पर्यटक यहाँ आउने गरेका छन् भने त्यो सङ्ख्या शनिबार पाँच हजारभन्दा बढी पुग्ने गरको छ । हाल सुनसरीका इटहरी, धरान, इनरुवा साथै मोरङ, झापा र विराटनगरका विभिन्न ठाउँबाट दैनिक रूपमा धेरैजसो पर्यटक आउने गरेका छन् । प्राकृतिक सौन्दर्य, सूर्यास्तको मनमोहक दृश्य, कोशी किनारको खुला भू–दृश्य, क्याम्प फायरको आकर्षण र स्थानीय खानाका कारण ‘बोराबाध’ पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । यसले स्थानीयस्तरमा रोजगार, व्यवसाय वृद्धि र आयमा सकारात्मक प्रभाव पारिरहेकाले थप पूर्वाधार विकास गरी लाभ लिनुपर्ने स्थानीयको माग छ ।

