इटहरी । झापाको कन्काई पुलको ठेक्का तोडिएको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत इटहरी योजना कार्यालयले सूचना निकालेर ठेक्का सम्झौता अन्त्य भएको जानकारी गराएको हो । हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका वडा नम्बर २ र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ जोड्ने झन्डै ७ सय २५ मिटर लामो कन्काई पुल बनाउन १४ वर्ष अघि खरिद सम्झौता भएको थियो । यो पुल बनाउन पप्पु–महादेव खिम्ती जेभीले ३४ करोड ९ लाखमा ठेक्का सम्झौता गरेको थियो । २०६८ साल जेठ २९ गते भएको सम्झौता अनुसार २०७२ सालको जेठ २९ गते काम सकिसक्नुपर्ने थियो । तर पूर्व सांसद समेत रहेका हरिनारायण रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले अन्य विभिन्न आयोजना जस्तै यो पुल पनि अलपत्र पारेको छ । पप्पुले अलपत्र पारेपछि जेभीको रूपमा रहेको कम्पनी महादेव खिम्तीले काम गर्दै आएको थियो । महादेव खिम्तीले पनि काम नगरेपछि ठेक्का तोडिएको हो । पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको बिमसम्म ९गर्डर० हालिएको छ । ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी छ ।

