इटहरी । विराटनगर महानगरपालिका–८ मा रहेको मोरङ कारागारभित्र राखिएका कैदीबन्दी तथा थुनुवामा छाला रोगको समस्या अत्यधिक देखिएको छ। मोरङ सहकारी अस्पतालको प्राविधिक तथा चिकित्सकीय सहयोगमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराएका अधिकांश कैदीबन्दी छालासम्बन्धी रोगले पीडित रहेको तथ्य बाहिरिएको हो। चिकित्सकका अनुसार छाला चिलाउने, खस्रो हुने, फुट्ने, फोका देखिने, डाबर बन्ने जस्ता समस्या धेरै कैदीबन्दीमा एकसाथ देखिनु कारागारभित्र सरसफाइ, पानी तथा स्वास्थ्य सुरक्षाको अपर्याप्ततासँग जोडिएको हुनसक्छ। छालाको समस्या एक व्यक्तिबाट अर्को व्यक्तिमा चाँडो सर्ने पनि उनीहरुले बताए। मोरङ कारागारमा पछिल्लो समय कैदीबन्दी बिरामी पर्ने दर तीव्र रूपमा बढिरहेको छ। कैदीबन्दीमा स्वास्थ्य जोखिम बढ्दै गएपछि कारागार प्रशासनले मोरङ सहकारी अस्पतालसँग समन्वय गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको कारागार प्रशासक गौरव ढुंगेलले बताए। उनका अनुसार शिविरमा २ सय ६५ जना कैदीबन्दी तथा थुनुवाले स्वास्थ्य परीक्षण एवं उपचार गराएका थिए। परीक्षण गराएकामध्ये १३ जनाको मुटुको ईसीजी, १५ जनाको भिडियो एक्स–रे गरिएको थियो भने स्वास्थ्य अवस्था जटिल देखिएका पाँच जनालाई तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन चिकित्सकहरूले सुझाव दिएका छन्। मोरङ सहकारी अस्पतालका व्यवस्थापक धरणी खनालका अनुसार कन्सलटेन्ट फिजिसियन डा। रतिसकुमार यादवको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मी गरी ११ जनाको टोली शिविरमा खटिएको थियो। शिविरमा मधुमेह तथा रक्तचापको जाँच, ईसीजी, भिडियो एक्स–रे, रगत परीक्षणलगायत सेवा प्रदान गरिएको थियो।

स्वास्थ्य परीक्षण तथा उपचारका लागि आएका कैदीबन्दीलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको खनालले बताए। उनका अनुसार केहीको रगत परीक्षणका लागि नमुना संकलन गरी प्रयोगशालामा पठायएको छ। रगत परीक्षणसमेत अस्पतालले निःशुल्क गरेको छ। कारागारका कैदीबन्दी तथा थुनुवामा ज्वरो आउने, छाला तथा मुटुको समस्या, शरीर सुन्निने तथा विभिन्न दीर्घरोगका लक्षण धेरै भेटिएको चिकित्सकहरूको भनाइ छ। शिविरमा खटिएका फिजिसियन डा। विकाश झा अविनाशका अनुसार परीक्षणमा आएकामध्ये करिब ७० प्रतिशत व्यक्तिमा छालासम्बन्धी समस्या देखा परेको छ। डा। झाले कारागारमा शरीर सुन्निने समस्या अत्यधिक देखिन थालेको पनि बताए। उनका अनुसार केही कैदीबन्दीमा प्रारम्भिक अवस्था सामान्य हुँदाहुँदै केही हप्तामै हात, खुट्टा, अनुहार वा शरीरका भागहरु सुन्निन थालेको पाइएको छ।  शिविरमा परीक्षण गराएका कैदीबन्दी र थुनुवामध्ये केहीमा मधुमेह, उच्च रक्तचाप तथा मुटुको समस्या पनि देखिएको चिकित्सकहरू बताउँछन्।

कारागार प्रशासक ढुंगेलका अनुसार पछिल्लो समय कैदीबन्दीमा शरीर सुन्निने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने जस्ता समस्या बढ्दै गएका छन्। उनका अनुसार विभिन्न स्वास्थ्य संस्था तथा सम्बन्धित निकायसँग समन्वय गरेर यस्ता शिविरलाई नियमित रूपमा सञ्चालन गर्ने तयारी पनि गरिएको छ। कारागारभित्र निःशुल्क स्वास्थ्य परीक्षण पाउँदा कैदीबन्दीहरू खुसी देखिन्थे। मोरङ कारागारमा पछिललो समय मृत्यु हुने घटनामा उल्लेख्य वृद्धि भएको छ। वैशाखयता मात्र १ जना महिलासहित १३ जना कैदीबन्दीको मृत्यु भइसकेको छ। अधिकांशले उपचारका क्रममा अस्पतालमै ज्यान गुमाएका हुन्। मृतकहरूमा शरीर सुन्निने, श्वासप्रश्वासमा समस्या हुने, छाती दुख्नेजस्ता लक्षण रूपमा देखिएको ढुंगेलको भनाइ छ। 

कारागारमा हाल १ सय ११ जना महिला र २ जना आश्रित बालकसहित १ हजार १ सय ९१ जना कैदीबन्दी तथा थुनुवा छन्। कैदीबन्दीको चाप, भिडभाडयुक्त बसाइ, सीमित स्वास्थ्य सेवा, अपुग सरसफाइ, पर्याप्त शुद्ध पानी उपलब्ध नहुनु आदि कारणले स्वास्थ्य जोखिम बढ्दै गएको विश्लेषण गरिएको छ। स्वास्थ्य शिविर प्रभावकारी भएको बताउँदै चिकित्सकहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके कैदीबन्दीहरूका धेरै स्वास्थ्य समस्याको समयमै उपचार हुनसक्ने उल्लेख गरे। कारागारभित्र बढ्दो स्वास्थ्य संकटलाई ध्यानमा राख्दै आगामी दिनमा अझ विस्तृत तथा नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना बनाइएको कारागार प्रशासक ढुंगेलले बताए।