इटहरी। जिल्ला अस्पताल सङ्खुवासभामा शुक्रबार सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट सङ्खुवासभा र छिमेकी जिल्ला भोजपुरका सर्वसाधारण लाभान्वित भएका छन् ।  दूरदराजका बासिन्दालाई सहज र नजिकै विशेषज्ञ सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरमा एकै दिन तीन सयभन्दा बढीले स्वास्थ्य सेवा लिएको अस्पताल प्रशासनका अधिकारीले जनाएका छन् । शिविरमा नशा तथा मानसिक स्वास्थ्य सेवाका ३० जना, नाक, कान र घाँटी ९इएनटी० का ८२ जना तथा छाला रोगका ७४ जना बिरामीले विशेषज्ञ परामर्श तथा उपचार लिएका छन् ।  शिविरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ डा। रोशन पोखरेल, कोशी अस्पताल विराटनगरका इएनटी विशेषज्ञ डा। रौनक दाहाल, छाला रोग विशेषज्ञ डा। असित घिमिरे लगायतका चिकित्सकले सेवा प्रदान गर्नुभएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका अनुसार एउटै स्थानमा विभिन्न विशेषज्ञ सेवा उपलब्ध हुँदा थोरै समयमा धेरै बिरामीको उपचार सम्भव भएको बताउनुभयो । दुर्गम बस्तीका बासिन्दालाई विशेष राहत पुगेको उहाँको भनाइ छ ।