इटहरी । उत्तरी मोरङको मिक्लाजुङ– १ ज्यामिरेका सन्तोष राईको बारीमा यतिबेला लटरम्म सुन्तला फलेका छन् । तीन वर्ष विदेश बसेर सन् २०१३ मा नेपाल फर्केपछि उहाँले गाउँमै व्यवसायीक सुन्तला खेती गर्ने योजना बनाउनुभयो । १२ वर्ष अघि गाउँमा कसै कसैले एक दुई बोट सुन्लला रोप्नु भएको थियो । तर व्यवसायीक खेती कसैले गरेको थिएनन् । उसबेला रमिते पुुग्ने सडक थिएन । मधुमल्ला र टाँडीबाट पैदल यात्रा गरेर रमिते पुुग्नुु पर्थ्यो । धनकुटाको पारिपात्लेबाट बढो दुुःखका साथ उहाँले दुई सय बिरुवा लगेर बारिमा रोप्नुुभयो । ११ वर्ष अघि रोपेका दुई सय बिरुवामध्ये डेढ सय बोटले सात वर्ष यता निरन्तर आम्दानी दिइरहेका छन् । विदेश नजाने सोच बनाएर सुन्तला खेती गर्न थाल्नु भएका राईले हाल दुई तले खेती गरिरहनु भएको छ ।
भुईमा अलैँची र डिलमा सुन्तला । कृषि कर्म मिलाएर गर्न जाने पैसा कमाउन विदेश गइरहनु नपर्ने बुझाइ छ, उहाँको रहेको छ । राईले गाउँमा जे उत्पादन गरेपनि बिक्री नहोला भन्ने चिन्ता नभएको जनाउनुभयो । सन्तोषले गत वर्ष सुन्तोलाका चार सय बिरुवा थप्नु भयो । अहिले १० रोपनीमा सुन्तोला र त्यहीँ अलैची लगाउनुभएको छ । उहाँले सुन्तला खेतीमा हालसम्म तीन लाख मात्र लगानी गर्नुुभएको छ । बिरुवा किन्न बाहेक केहीमा खर्च छैन । गाईको गोबर र बाख्राको जुतो (बड्क्यौला)बाहेक रसायनिक मल प्रयोग गर्नु परेको छैन । बेला बेला रोग देखिन्छ, त्यसबेला उपचार गर्नुपर्छ । सन्तोषको सुन्तोला खेतीले पैसा साट्न थालेपछि अहिले गाउँमा नरबहादुर राई, जुद्धबहादुर राईले पनि सुन्तला खेती सुरु गर्नुभएको छ । उहाँहरू मात्र होइन, क्यामुनेका खगेन्द्र राईले सय बोट, धुर्पाका तिलकसिंह राईले डेढ सय बोट, खोलेङ्खाका विजय राईले सय बोट सुन्तोला खेती सुरु गर्नुभएको छ । किसान चौकबाट रमिते पुग्ने सडक कालोपत्रे भएपछि कृषि उपज उत्पादन गर्न किसान हौसिएका छन् ।

