इटहरी । झापाको दमकको सब्जि बजारमा बिक्रीका लागि ल्याइएका हरियो र ताजा देखिने सागसब्जीमा अधिक विषादी हुने गरेको पाइएको छ । हरियो परियोको रुपमा भान्सामा अधिक प्रयोग हुने गरेको रायोको सागमा अधिक विषादी भएको पाइएको हो । दमक बजारमा खुलेआम बेचिने रायोको सागमा अत्यधिक विषालु रसायन भेटिएपछि नगरपालिकाले यसमा चासो दिएको छ । दमक बजार अनुगमन समितिकी संयोजक समेत रहनुभएकी दमक नगरपालिका उपप्रमुख रेगिना भट््टराइ प्रशाईका अनुसार दमक नगरपालिकाले स्थानीय बजारबाट आईतवार संकलन गरेको रायोको सागको परीक्षणले धेरै नै चिन्तित बनाएको छ। केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बिर्तामोडमा भएको परिक्षण अनुसार दमकबाट सोमबार संकलन गरिएको रायोको सागमा कार्वामेट ७८।४९ प्रतिशत र अर्गानो–फस्फेट ९९।२६ प्रतिशत भेटिएको छ । मोरङको भाउन्ने क्षेत्रबाट यो साग ल्याइएको पाईएको प्रशाईले जानकारी दिनुभयो । उक्त क्षेत्रबाट साग नल्याउन दमकको शब्जि बजारका ब्यापारीहरुलाई सचेत गराईएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभयो । यसलाई हामीले गम्भिर रुपमा लिएका छौ । ९९ सय प्रतिशतभन्दा माथि हरियो रायोको सागमा विषादी देखिनुलाई सामान्य मान्य नसकिने उहाँको भनाइ छ । दमक नगरपालिका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईका अनुसार कार्वामेट र अर्गानो–फस्फेट दुबै विषादी नेपालमा प्रयोगका लागि प्रतिबन्ध गरिएकाछन् । उहाँका अनुसार कतिपय विषादीहरु तरकारीमा लगाएर केही दिन राख्दा त्यसमा देखिने मात्रा कम हुँदै जाने अवस्था रहनसक्छ । उहाँका अनुसार ३५ प्रतिशतभन्दा कम बिषादी देखिएमा यो खानका लागि योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म बिषादी भेटिए केहि दिन राखेर पर्खन सकिन्छ । केहि दिनपछि परिक्षण गर्दा बिषादीको मात्रा कम हुनसक्छ । ४५ प्रतिशतभन्दा माथि बिषादी तथा रसायनको हकमा यो नष्ट गर्नुको विकल्प रहदैन । चिकित्सकहरुका अनुसार यस प्रकारका बिषादीहरुको प्रयोग बढ्दै जाँदा स्नायु प्रणालीमा प्रत्यक्ष असर गर्न सक्छ । विषादी शरीरमा प्रवेश गरेपछि टाउको दुखाइ, बान्ता, चक्कर, पसिना अत्यधिक आउने, धड्कन अनियमित हुने जस्ता लक्षण देखिन सक्ने जनाइएको छ । दीर्घकालीन रूपमा कलेजो–मृगौला क्षति, प्रजनन समस्या, स्मरण शक्ति कमजोर हुने र क्यान्सरसम्मको जोखिम बढ्ने भएकाले यो रोक्न सबैले सुझाव दिएको दमक बजार अनुगमन समितिकी संयोजक प्रशाईले बताउनुभयो ।


