भोजपुर | भोजपुरको अरुण गाउँपालिका, प्याउलीमा ‘प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८२’ हुने भएको छ। मंसिर १८ गते देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन प्याउलीस्थित श्री शारदा माध्यमिक विद्यालयको खेलमैदानमा बिहान १ बजे गरिने भएको हो । अरुण गाउँपालिकाले आयोजना हुने प्रतियोगिता खेलकुद मार्फत युवाहरूलाई प्रेरित गर्ने, स्थानीय समाजमा एकता र उत्साह जगाउने उद्देश्यले गरिएको बताइएको छ।

कार्यक्रममा अरुणवासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूको गौरवपूर्ण उपस्थितिका बीच भलिबल प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको थियो। खेल प्रेमी दर्शकहरूको उत्साहपूर्ण सहभागिताले वातावरण थप उत्साही बनेको आयोजकको भनाइ छ। प्रतियोगितामा विभिन्न पालिकाबाट आमन्त्रित उत्कृष्ट टोलिहरूले प्रतिस्पर्धा गर्नेछन्।

पुरस्कार राशी प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रथम पुरस्कार रु. २ लाख ६६ हजार ६ सय ६६, द्वितीय पुरस्कार २ लाख ,तृतीय पुरस्कार रु. १ लाख र सान्त्वना पुरस्कार रु. ३३ हजार ३ सय ३१ साथै व्यक्तिगत विधाका नगद पुरस्कारहरू पनि प्रदान गरिने आयोजक संस्थाका तुलसी ढकालले जानकारी दिनुभयो । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेट्टर, लिब्रो र ब्लक्करलाई पनि विशेष सम्मान पुरस्कार प्रदान गरिनेछ।

आयोजकका अनुसार प्रतियोगिताको टिम दर्ता निःशुल्क राखिएको छ। खेललाई ‘मञ्जुश्री अनलाइन’ मार्फत प्रत्यक्ष प्रसारण (Live On) गरिएको छ।

गाउँपालिकामा खेलकुद विकास, युवाहरुमा खेलप्रति रुचि अभिवृद्धि र खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनुभयो । प्रतियोगिताले अन्तरपालिका मैत्री सम्बन्ध, खेलकुदको प्रवर्द्धन तथा स्थानीय प्रतिभा बाहिर ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गरेको बताउनुभयो । सम्पर्कका लागि मोहन सिंह साउत र तुलसी ढकाललाई सम्पर्क नम्बर पोस्टरमा उल्लेख गरिएको छ।

अरुण गाउँपालिका परिवारले खेलकुदले समाजलाई एकताबद्ध बनाउने भन्दै तीनदिने यस प्रतियोगितालाई भव्य र सफल बनाउन सबै स्थानीयवासी र खेल मन पराउनेहरूलाई उपस्थित रहन आग्रह गरेको छ।